निर्वाचनबारे ७ दलसँग छलफल गर्दै प्रधानमन्त्री, एमालेबाट पोखरेल र ज्ञवाली जाने


काठमाडौं, कार्तिक ४ । प्रधानमन्त्री सुशीला कार्कीले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सात राजनीतिक दलसँग आज छलफल गर्ने भएकी छन् । प्रधानमन्त्री कार्कीले फागुन २१ गते तय गरिएको निर्वाचन सम्बन्धमा छलफल गर्न राष्ट्रिय मान्यता प्राप्त सात दलका २/२ जना प्रतिनिधिलाई छलफलका लागि बोलाएकी छन् ।

प्रधानमन्त्रीले फागुन २१ को निर्वाचन गराउने मुख्य कार्यभार अनुसार राजनीतिक संवादको पहलको रुपमा आजको बैठक आह्वान गरिएको उनको सचिवालयले जनाएको छ । बैठक आज साँझ ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

सरकारले निर्वाचनको वातावरण निर्माणका लागि दलहरूलाई पत्राचार नै गरिसकेको छ । यसअघि संसद् पुनर्स्थापनालाई बटमलाइन बनाएको नेकपा एमालेसमेत आजको छलफलमा सहभागी हुने भएको छ। प्रधानमन्त्री कार्कीले बोलाएको बैठकमा एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी हुन लागेका छन् ।