काठमाडौं, कार्तिक ४ । हमासको नियन्त्रणमा रहेकै अवस्थामा मारिएका नेपाली विद्यार्थी कञ्चनपुरका विपिन जोशीको मङ्गलवार कञ्चनपुरस्थित महाकाली (भुजेला घाट) आर्यघाटमा दाहसंस्कार गरिएको छ ।
मङ्गलवार बिहान ८ बजे महेन्द्रनगरस्थित घरबाट शवयात्रा सुरु गरी महाकाली आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको हो । विपिनको शवमा उनका बुवा महानन्द जोशी सहित आफन्तहरूले दागबत्ती दिए भने सशस्त्र प्रहरी बलले सलामी दिएको छ ।
दाहसंस्कारका क्रममा नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बास सहित इजरायली प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो । शवयात्रामा पूर्वपरराष्ट्र मन्त्री एनपी साउद सहित पूर्वसांसदहरू, प्रदेशका मन्त्री तथा सांसदहरू, स्थानीय तहका जनप्रतिनिधि सहित हजारौँ नागरिकहरूको उपस्थिति रहेको थियो ।

विपिनको शव सोमबार राति कञ्चनपुरको महेन्द्रनगरस्थित घरमा पुर्याइएको थियो । सोमबार दिउँसो फ्लाई दुबईको उडानमार्फत विपिनको शव काठमाडौँ ल्याइएको थियो । विपिनको शवलाई प्रधानमन्त्री सुशीला कार्की तथा मन्त्रीहरूसहित सरकारका उच्च अधिकारीहरूले विमानस्थलमा पुगेर श्रद्धाञ्जली दिएका थिए। विपिनको शवलाई सोमबार अपराह्न नै नेपाली सेनाको स्काई ट्रकमार्फत धनगढी पठाई धनगढीबाट शव वाहनमार्फत कञ्चनपुरको महेन्द्रनगरस्थित घरसम्म पुर्याइएको हो । धनगढी विमानस्थलमै नेपाली सेनाले औपचारिक रूपमा परिवारका सदस्यलाई शव हस्तान्तरण गरेको थियो ।
अन्त्येष्टिका क्रमममा विपिनको झोला खोलिएको थियो । त्यसमा उनका लत्तापकडासँगै उनले बजाउने गरेको गिटार र ढाकाटोपी, विभिन्न औषधीहरु, ग्लुकोजको डिब्बा लगायतका समाग्री भेटिएको छ ।

हमासले ७ अक्टोबर २०२३ मा इजरायलमा आक्रमण गर्दा विपिनलाई बन्धक बनाइ लगिएको थियो । दुई वर्षसम्म विपिनको स्थिति अज्ञात रहेकोमा गत असोज २७ गते विपिनको मृत्यु भएको पुष्टि गरिएको थियो । हमासले इजरायलमा आक्रमण गर्दा पहिलो दिनमा मात्रै १० नेपाली विद्यार्थीसहित करिब १ हजार २ सयको मृत्यु भएको थियो । विपिनसहित २ सय ५१ जनालाई हमासले नियन्त्रणमा लिई बन्धक बनाएको थियो ।
गत सोमबार हमासले विपिनको शव इजरायललाई हस्तान्तरण गरेको थियो । इजरायल सरकारले विपिनका परिवारलाई आफ्नो नागरिकले पाउने सेवा सुविधा उपलब्ध गराउने जानकारी गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ । विपिन एक्ला छोरा हुन् ।





प्रतिक्रिया