काठमाडौं, ८ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सोविता गौतमले गृहमन्त्री ओमप्रकाश अर्याललाई लेटाङमा घटेको १२ वर्षीया अंशु गौतमको निर्मम हत्या भएको भन्दै यसमा संलग्न जो कोहीलाई पनि शिघ्र कानूनी दायरामा ल्याउन माग गरेकी छिन् । गौतमले यो घट्ना केवल एक परिवारको पीडामात्रै नभएर सम्पूर्ण समाजको सुरक्षामाथिको प्रश्न भएको उल्लेख गरेकी छिन् ।
गृहमन्त्री अर्याललाई नै सम्बोधन गरेर लेखेको फेशबुक स्टाटसमा गौतमले बालिकाको मृत्युको विषयमा तत्काल र छिटो अनुसन्धान प्रारम्भ गरी दोषीलाई कानुनी दायरामा ल्याउनु आजको पहिलो आवश्यकता बनेको भनेकी छिन् । उनले गृह मन्त्रालयले यस घटनालाई फास्ट ट्र्याकमा कार्य गरी अपराधीलाई पक्रिएर कानुनको दायरामा ल्याओस भन्ने अपेक्षा राखेकी छिन् ।
उनले लेखेकी छिन्–
गृहमन्त्रीज्यू,
लेटाङमा घटेको १२ वर्षीया अंशु गौतमको निर्मम हत्या घटनाले सम्पूर्ण देशवासीलाई स्तब्ध र आक्रोशित बनाएको छ। २०८२ असोज २१ गते बेलुकी ४ बजेदेखि सम्पर्कविहीन रहेकी लेटाङ–२ स्कुलचोककी अंशुको शव हिजो बिहान लेटाङ–बेलबारी सिमानासँगैको जंगल क्षेत्रमा बीभत्स अवस्थामा फेला परेको प्रहरी विवरणले गम्भीर मानवीय अपराधको संकेत गर्दछ।
यो घटना केवल एक परिवारको पीडा मात्र होइन, सम्पूर्ण समाजको सुरक्षामाथिको गम्भीर प्रश्न हो। यस्तो घटनामा संलग्न जो कोहीलाई पनि कुनै प्रकारको छुट नदिइ शीघ्र कानुनी दायरामा ल्याइनुपर्छ।
बालिकाको मृत्युको विषयमा तत्काल र छिटो अनुसन्धान प्रारम्भ गरी दोषीलाई कानुनी दायरामा ल्याउनु आजको पहिलो आवश्यकता बनेको छ। गृह मन्त्रालयले यस घटनालाई फास्ट ट्र्याकमा कार्य गरी अपराधीलाई पक्रिएर कानुनको दायरामा ल्याओस भन्ने अपेक्षा गर्दछु ।
यो घटनाको घोर निन्दा गर्दै, अपराधीमाथि अत्यन्तै कडा र उदाहरणीय कारबाही होस् भन्ने माग गर्दछु ।
न्याय र सुरक्षाप्रतिको विश्वास पुनस्र्थापित गर्न गृह मन्त्रालयले तत्काल सक्रियता देखाउनेछ भन्ने दृढ विश्वास गर्दछु ।
– सोबिता गौतम




प्रतिक्रिया