काठमाडौं, कार्तिक १० । नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले समयमै पार्टीको नियमित महाधिवेशन गर्न सकिँदैन भनेर कसैलाई पनि पन्छिन छुट नरहेको बताएकी छन् । दुई दिनको आन्दोलनले मुलुकको यो अवस्था आउन सक्छ, परिर्वतनको संदेश दिन सक्छ भने नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले नियमित महाधिवेशन गर्न सकिदैन, क्रियाशिल ल्याउन सकिदैन भनेर पन्छिन कसैलाई छुन नरहेको उनले बताईन् ।
नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले भनिन्, ‘इच्छा शक्ति भए मंसिर भित्रै नियमित महाधिवेशन गर्न संभव छ । कांग्रेस केन्द्रिय समितिको बैठकमा नियमित महाधिवेशन कसरी गर्न सकिन्छ, जेनजी आन्दोलनपछि सुशासन कसरी दिन सकिन्छ भन्नेबारे छलफल भइरहेको र कार्तिक १३ गते पुनः बस्ने केन्द्रिय समितिको बैठकमा पार्टी रुपान्तरण र कांग्रेसको नेतृत्व परिर्वतनबारे छलफल हुन्छ । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले बुझाएको हस्ताक्षरले समयमै महाधिवेशन गर्न अभिप्रेरित र दवाव दिएको छ । हस्ताक्षरले पहिला नियमिति महाधिवेशन गर्ने अभिप्रेरित गरेका छन् । त्यसबारे केन्द्रिय समितिमा थप छलफल हुन्छ ।’
नियमित महाधिवेशन गर्ने विषयमा केन्द्रिय समितिको बैठक छिटो सकेर, द्रुतमार्गबाटै पार्टी छोडेर गएका र मरेर गएकाहरुलाई हटाएर केन्द्रबाटै क्रियाशिल सदस्यको सदस्यता स्वत: नविकरण गर्न सकिने उनको भनाई छ । नविकरण गर्दा अहिलेको जेन-जी पुस्ताको प्रतिनिधित्व हुनेगरी १५ दिनको समय दिएर मंसिर भित्रै महाधिवेशन गर्न सम्भव रहेको उनले बताईन् ।
समयमै महाधिवेशन गर्न सके यसले नेतृत्वबारे समेत स्पष्ट मार्ग निर्देशन गर्ने उनको भनाई छ । कांग्रेस निर्वाचनको लागी तयार रहेको बताउँदै उनले सरकारले निर्वाचनको तयारीलाई तिब्र बनाउनुपर्नेमा जोड दिईन् ।




प्रतिक्रिया