निर्वाचनको विकल्प छैन भन्ने पक्षमा माओवादी केन्द्र रहेको छः माधव सापकोटा


काठमाडौं, १० कात्तिक । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्व सांसद माधव सापकोटाले यो वा त्यो बहानामा सरकार र राजनीतिक दलले निर्वाचनलाई छल्न नहुने बताएका छन् । निर्वाचनको वातावरण बनाउन लुटिएका हातहतियार र भागेका कैदीलाई नियन्त्रणमा लिन उच्च प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । सरकारले जाँगरका साथ काम गर्यो भने त्यो असम्भव नरहेको उनको भनाइ छ । प्रहरीको मनोबल उच्च बनाएर सक्रियतापूर्वक परिचालन गर्न सक्दा त्यो काम सम्भव रहेको उनले बताए ।

‘लुटिएको हतियार र फरार कैदीलाई फिर्ता नल्याउँदा निर्वाचन मात्रै होइन, समाजको विद्यमान शान्तिसुरक्षा, अमनचयन र सामाजिक सद्भावमा समेत खलल पुग्न सक्छ । यसैलाई वहाना बनाएर चुनावको तिथिमिति तलमाथि गर्न पाइँदैन । निर्वाचन गर्नकै लागि दलहरुले अन्तरिम सरकार बनाएका हौँ । राजनीतिक दलले सरकारलाई सहयोग गर्नुपर्छ । सरकारले राजनीतिक दलहरुसँग विश्वास कायम गरेर सहयोग लिनुपर्छ । सरकार, राजनीतिक दल र सरोकावाला पक्ष सबै मिलेर तोकिएको समयमा निर्वाचन गर्ने वातावरण बनाउनुपर्छ,’– उनले भने ।

माओवादीको केन्द्रीय समितिको बैठकले अहिलेको राजनीतिको निकास भनेको निर्वाचन हो, निर्वाचनको वातावरण बनाउनुपर्छ भन्ने निर्णय गरिसकेको पनि उनले बताए । आन्तरिकस्थिति सुदृढ गर्न एकता वा विशेष महाधिवशेनतर्फ पार्टी केन्द्रित हुने पनि उनले बताए । ‘त्योसँगै निर्वाचनको तयारीका पक्षमा निर्णय गरेका छौँ । तत्कालै जनतामा जाने र निर्वाचनको वातावरण बनाउने कार्यक्रम तय गरिसकेका छौँ । निर्वाचनको विकल्प छैन भन्ने पक्षमा माओवादी केन्द्र रहेको छ,’– उनले भने ।