संसद् पुनःस्थापना गरी संविधान संशोधनमार्फत जेन-जीले उठाएका मुद्धा सम्बोधन गरौंः कांग्रेस नेता घिमिरे


काठमाडौं, १० कात्तिक । नेपाली कांग्रेसका नेता श्याम कुमार घिमिरेले आफूहरु निर्वाचनबाट नभाग्ने बताएका छन् । उनले कांग्रेस प्रजातान्त्रिक पार्टी भएको हुनाले निर्वाचनबाट नभाग्ने तर शान्तिसुरक्षाको पूर्ण प्रत्याभूतिसहित भयरहित वातावरणमा चुनाव हुन्छ कि हुन्न भन्ने अहिलेको गहन प्रश्न रहेको बताए ।

‘अहिले एक खालको अन्योल देखिएको छ । निर्वाचनका लागि अझै पनि सहज वातावरण निर्माण भइसकेको छैन । गत भदौ २४ गते आजगानी, लुटपाट, तोडफोड जस्ता अपराधजन्य क्रियाकलापमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन नसकिएको अवस्था छ,’– उनले भने ।

नेता घिमिरेले यस विषयमा सरकारको धारणा के हो भन्ने प्रष्ट हुनुपर्ने बताए । जनधनसहित राज्यको महत्वपूर्ण संरचनामा आगजनी गर्नेलाई कारबाही नगर्ने हो भने शान्तिसुरक्षाको प्रत्याभूति हुन नसक्ने उनको भनाइ छ । अहिले पनि प्रहरीबाट लुटिएका सयौँ हातहतियार बाहिर रहेको उनले स्मरण गराए ।

त्यस्तै, ठूलो सङ्ख्यामा कैदीबन्दी भागेका भाएको अवस्थामा निर्वाचन भयरहित वातावरणमा हुनसक्ला र भन्ने आशङ्का सबैमा रहेको पनि उनले बताए । जुनसुकै अपराधिक गतिविधिमा संलग्नमाथि कारबाही हुनुपर्छ भन्ने कांग्रेसको मान्यता रहेको पनि उनले बताए । हतियार र कैदी फिर्ता नभई चुनावको वातावरण बन्न नसक्ने उनको भनाइ छ ।

घातक हतियार र कैदीबन्दी बाहिर रहेकाले चुनावमा जाँदा आक्रमणको भय हुनसक्ने र अर्कोतर्फ सुरक्षाकर्मीको मनोबल खस्केको पनि उनले बताए । तल्लो तहसम्मका प्रहरी चौकीमा क्षति भएकाले सुरक्षाकर्मीको बस्ने, खाने र काम गर्ने वातावरण बनिनसकेको अवस्था रहेको र यस्तो अवस्थामा शान्तिपूर्ण एवं निष्पक्ष चुनावको अपेक्षा गर्न नसकिने उनले बताए ।

राज्यले कम्तीमा हिंसात्मक घटनामा संलग्नमाथि कारबाहीको प्रक्रिया सुरु गर्नुपर्ने उनको माग छ । जेलबाट फरार रहेका कैदीबन्दीलाई फिर्ता ल्याउन कार्यदल नै बनाएर काम गर्नुपर्ने, प्रहरीका लुटिएका हतियार कसरी फिर्ता ल्याउने भन्नेमा सरकार लाग्नु पर्ने उनको सुझाव छ ।

निर्वाचनको प्रमुख सरोकारवाला राजनीतिक दललाई विश्वासमा लिएर सरकारले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने पनि उनले बताए । यसअघि २०७९ सालमा जसरी चुनाव लडेर आएको हो त्यही ढङ्गको चुनाव हुने हो भने परिवर्तनको अर्थ नहुने उनले बताए । मौजुदा संविधान संशोधन गरी निर्वाचन प्रणालीमा परिवर्तन गर्नुपर्ने उनको धारणा रहेको छ । त्यसो हुँदा संसद् विघटनको औचित्य पुष्टि नहुने उनले बताए । त्यसैले संसद् पुनःस्थापना गरी संविधानमा आवश्यक संशोधन गर्नु उपयुक्त हुने उनको धारणा छ । संविधान संशोधन गरेर ‘जेनजी’ले उठाएका मुद्धा यथासक्य सम्बोधन गर्ने कोसिस गर्दामात्रै त्यसपछि निर्वाचनमा जाँदा औचित्य रहने उनले बताए ।