माओवादी नेता मोदीको आरोपः सुशीला कार्कीनेतृत्वको सरकारलाई अदृश्य शक्तिले सञ्चालन गरिराखेको छ


काठमाडौं, ११ कात्तिक । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री अमनलाल मोदीले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारलाई अदृष्य शक्तिले सञ्चालन गरिराखेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दैै उनले मन्त्रीहरुमा यो सरकारले ट्रायल गरिराखेको देख्दा अदृष्य शक्तिले चलाएको भान हुने बताएका हुन् । उनले वर्तमान सरकारले जनता र राजनीतिक दललाई विश्वासमा लिएर र राज्यका सबै संयन्त्रलाई ठीक तरिकाले परिचालन गरेर काम गर्न नसकेको बताए ।

‘सरकारको गतिविधि हेर्दा, सरकारको परिस्थिति हेर्दा अदृष्य शक्तिले कसरी सञ्चालन गरिराखेको छ ? स्थिति ठीक छैन । मन्त्रीको नाममा विवाद, ट्रायलबाहेक यो सरकारले केही गर्न सकेको छैन । देश र जनताको हितमा, राष्ट्रको हितमा, राजनीतिक दललाई विश्वासमा लिएर, सबै संयन्त्रलाई ठीक तरिकाले परिचालन गरेर काम गर्न सकेको छैन,’– उनले भने ।

नेता मोदीले सरकारले आफूले निर्धारण गरेको लक्ष्यभन्दा बाहिर गएर गतिविधिहरु गरिरारखेको बताए । यस्तो अवस्थामा यो सरकारले चुनाव गराउन सक्नेमा जनताले प्रश्न उठाइसकेको पनि उनले बताए ।

‘यो सरकारले अहिलेको परिस्थितिमा राजनीतिक दललाई मात्रै नभएर समग्र जनतालाई विश्वासको वातावरण बनाउनुपर्ने, त्यता ध्यान छैन । अनि के–के काम गरिराखेको हुन्छ । गृहमन्त्री के–के बोलेर हिँडेका छन् । लक्ष्य के हो ? निर्धारण गरेर सरकारले पूरा गर्नतर्फ लाग्दैन । यस्तो परिस्थितिमा चुनाव के होला भन्ने जनताको आम प्रश्न छ,’– उनले भने ।