काठमाडौं, ११ कात्तिक । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । आयोगका अध्यक्ष र सदस्यहरुलाई विपक्षी बनाएर अधिवक्ता विपिन ढकालले आइतबार सर्वोच्चमा रिट दायर गरेका थिए ।
सर्वोच्च प्रशासनले जनाएअनुसार सो रिट आज दर्ता भएको हो । दर्ता भएको रिटको पेशी बुधबारका लागि तोकिएको छ । जेनजी आन्दोलनमा भएको दमन र त्यसपछि भएको आगजनीको विषयमा छानबिन गर्न सरकारले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो । आयोगका पदाधिकारीहरु पूर्वाग्रही र विषयवस्तुबारे तटस्थ नभएको रिट निवेदकको आरोप छ ।
पूर्वाग्रही धारणा राख्ने व्यक्तिलाई आयोगको अध्यक्षको रूपमा नियुक्त गरिएको र प्राकृतिक न्यायको सिद्धान्त उल्लङ्घन भएको रिट निवेदनमा उल्लेख छ । रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म अध्यक्ष र सदस्यको हैसियतमा कुनै पनि काम नगर्न र नगराउन अन्तरिम आदेशको मागसमेत गरिएको छ ।




प्रतिक्रिया