काठमाडौं, १२ कात्तिक । प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ जारी रहेको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा पाँच सदस्यीय संवैधानिक इजलास गठन गरेर सो रिटमा सुनुवाइ जारी रहेको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश राउत, न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा रहेका छन् ।
अधिवक्ता डा.प्रेमराज सिलवालले दर्ता गराएको रिट पहिलो नम्बरमा सुनुवाइ भएको थियो । अधिवक्ता डा.सिलवालले संविधानमा आफूखुसी गर्न नपाइने तर्क राखे । उनले प्रधानमन्त्रीमा कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटन दुवै असंवैधानिक रहेको दाबी गरे । उनले प्रतिनिभिसभा पुनर्स्थापना हुनुपर्ने जिकिर गरे । ‘संविधान कसैले दिएको उपहार होइन । संविधानमा आफूखुसी गर्न पाइँदैन । यो गैरकानूनी छ । प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्छ,’– उनले भने ।
साथै, अधिवक्ता डा.सिलवालले गैरसंवैधानिक सरकारले घोषणा गरेको निर्वाचन पनि मुद्दाको अन्तिम टुङ्गो नलागुन्जेलसम्म रोक्नुपर्ने भन्दै परमादेशको माग गरे । यो सरकारलाई दीर्घकालीन असर पर्नेखालका काम गर्ने म्याण्डेटसमेत नरहेको उनको भनाइ छ । ‘गैरसंवैधानिक सरकारले घोषणा गरेको निर्वाचन रोक्नुपर्छ । दीर्घकालीन असर पर्नेखालका काम गर्न रोक्नुपर्छ,’– उनले भने ।




प्रतिक्रिया