काठमाडौं, १२ कार्तिक । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिमा गणतन्त्र जोगाउन र संविधान बचाउनको लागि आफूले निर्णायक भूमिका खेलेको बताएका छन् । आजबाट सुरु भएको पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले वितगमा आफूहरुले खेलेको भूमिकाको कारण मुलुकमा परिवर्तन भएको र गणतन्त्र ल्याउन सफल भएको स्मरण गराउँदै यसपटकको भदौको जेनजीको आन्दोलनपछि पनि राजनीतिक निकास दिन आफूले सक्रिय भूमिका खेलेको दाबी गरेका हुन् ।
उनले भने,‘म तपाईंहरुलाई यसपटकको पनि भूमिकाको पनि कुरा गर्न चाहन्छु, यसपटकको पनि भूीमका स्वयम राष्ट्रपतिजीले स्विकार गर्नुभएको छ, कि त तपाईं र तपाईंको पार्टीले भूमिका खेलेको हुनाले पनि मेरो मनोवल बुलन्द भयो । प्रतिकुलतालाई चिर्ने आँट र साहस आयो म मा भन्नुभयो । घट्नाक्रमले प्रष्ट बताएको छ, जुन दिन के हुन्छ ? के हुन्छ ? देशको अवस्थाबारे चिन्ता व्याप्त थियो, त्यस्तो बेलामा हामीलाई याद गरे, सम्झना गरे, राति ९ बजेदेखि विहान ४ बजेसम्म हामी राष्ट्रपति भवनमा थियौं, त्यहाँ राष्ट्रपतिजी हुनुहुन्थ्यो, प्रधानसेनापतिजी थिए, म थिएँ, प्रचण्डजी हुनुहुन्थ्यो । कांग्रेसलाई बोलाईयो आएन, एमालेलाई बोलाईयो, त्योपनि आएन । देशका दुई वटा ठूला भनिएका शक्तिहरु छैनन्, त्यसो हुनाले कसैले दश वटा निराशाको कुरा गर्छ भने त्यसको दुई कौडीको पनि महत्व छैन । त्यो बेलामा हामीले राखेका थियौं कि संविधान बचाउनुपर्छ , गणतन्त्र जोगाउनुपर्छ । राष्ट्रपतिको मान मर्दन राख्नुपर्छ भनेका थियौं । सबैले माने ।’




प्रतिक्रिया