बालुवाटारको त्रि-पक्षीय बैठकमा वर्षमान : “हामी जेन-जीसँग पनि चुनावी सहकार्य गर्न चाहन्छौं”


काठमाडौं, १२ कार्तिक । नेकपा (माओवादी केन्द्र) का सचिवालय सदस्य तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले आफूहरु निर्वाचनमा होमिन तयार रहेको बताएका छन् । आज बालुवाटारमा भएको सरकार, राजनीतिक दलका नेताहरु र जेनजी प्रतिनिधिहरुबीचको सम्वादमा दलको धारणा राख्ने क्रममा पुनले यस्तो बताएका हुन् ।

पुनले जेनजी पुस्ताको मागमा आफूहरुले आन्दोलनपूर्व र आन्दोलनलगत्तै पनि समर्थन जनाएको कुरा आजको छलफलमा स्मरण गराएका थिए । अहिलेपनि जेजनी युवाको मागमा आफ्नो दलको समर्थन रहेको पुनको भनाई थियो । उनले बालुवाटार बैठकमा भनेको कुरा उद्धृत गर्दै सचिवालयले भन्यो,”जेनजीको मागमा हामीले आन्दोलनपूर्व र पछि पनि समर्थन जनाएका थियौं । अहिले पनि हामी जेनजी युवाको मागमा समर्थन गर्न चाहन्छौं ।”

सो क्रममा उनले आफ्नो दल सरकारमा हुँदा वा प्रतिपक्षमा हुँदापनि सुशासन र भ्रष्टाचार नियन्त्रणको विषयमा काम गरेको र सशक्त आवाज उठाएको स्मरण गराएका थिए । त्यसकारण भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने एजेण्डामा माओवादी र जेनजीबीच निकटता रहेको उनको दाबी थियो । उनले भनेका थिए,”त्यही कारण हाम्रो आन्दोलनमा र पछि पनि समर्थन रहेको हो ।”

२३ र २४ भदौपछिको अवस्थामा आफूहरुले राजनीतिक र संवैधानिक प्रक्रिया सँगै जानुपर्छ भनेको पनि पुनले स्मरण गराए । उनको भनाई थियो-“सडकले नागरिक सरकार बनायो । यो सरकारलाई राजनीतिक दलको पनि समर्थन थियो । हामीले यो प्रक्रियालाई संसदले अनुमोदन गर्नुपर्छ भनेका थियौं, तर त्यो भएन । अब मुलुकलाई सही संवैधानिक प्रक्रियामा लाने भनेकै निर्वाचनमार्फत हो । सरकार निर्वाचनको तयारी र विश्वसनीय वातावरण निर्माणमा लाग्नुपर्छ । भ्रष्टाचार नियन्त्रण गर्न ०४६ पछि सार्वजनिक ओहोदामा बसेका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्न संयन्त्र बननाउने हो भने पनि हामी समर्थन र सहयोग गर्न तयार छौं । जेनजी आन्दोलनका सम्भव मागलाई सरकारले तत्काल सम्बोधन गरोस्, हाम्रो समर्थन रहनेछ ।”

प्रत्यक्ष निर्वाचित राष्ट्रपति, सुशासन र भ्रष्टाचार नियन्त्रणको एजेण्डा लिएर आफूहरु चुनावमा जाने उनको भनाई थियो । पुनले भनेका थिए,”हामी जेनजीसँग पनि चुनावी सहकार्य गर्न चाहन्छौं । हाम्रो तर्फबाट पनि जेनजीसँग निरन्तर संवाद जारी रहनेछ । जेनजीको लोकतन्त्र, संविधान, वर्तमान व्यवस्था र निर्वाचनप्रतिको प्रतिबद्धताप्रति पार्र्टीको तर्फबाट उच्च सम्मान छ । हामी जेनजी आन्दोलनको भावनाअनुसार आफूलाई रुपान्तरण गर्न पनि तत्पर छौं । सरकारले निर्वाचनको वातावरण बनाओस् हामी निर्वाचनमा होमिन तयार छौं ।”