शंकर पोख्रेलको दाबी : अहिलेको सरकारले सुरक्षा दिन सक्दैन, अब नागरिकले आफ्नो सुरक्षाका लागि टोल-टोलमा सुरक्षा समिति बनाउनुपर्छ


दाङ, १३ कार्तिक । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जेनजीका नाममा भएको प्रदर्शनलाई राष्ट्र र लोकतन्त्र विरोधी शक्तिले भड्काउने काम गरेको बताएका छन् । प्रेस चौतारी नेपाल दाङले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले यस्तो बताएका हुन् । उनले जेनजीले उठाएका मागमा नेपालका सबै राजनीतिक दल र नेपाली समाजको विमति नरहेको बताउनुभयो । तर भदौ २३ को आन्दोलनलाई उत्तेजित गराउने काम स्वार्थी तत्वहरूले गरेको बताए ।

भदौ २४ गते पनि जेनजीहरूले शोक सभा गर्ने भनेकामा सो दिन राष्ट्र विरोधी तत्वको घुसपैठबाट नेपालको केन्द्रीय प्रशासनिक भवन सिंहदरबार जलाउने र नेपालको न्याय प्रणालीलाई नै समाप्त गर्ने काम भएको उनको टिप्पणी थियो । जेनजीका नामका नव युवाहरूबाट यो काम हुनै नसक्ने विश्वास व्यक्त गर्दै उनले भने,‘जेनीहरूको माग राष्ट्रलाई कमजोर बनाउने थिएन ।’ आन्दोलनका क्रममा न्यायालयमाथिको आक्रमण सामान्य नभएको भन्दै प्रहरी र न्यायपालिकामाथिको आक्रमण नेपालको कानुनी व्यवस्थालाई खलबल्याउने षड्यन्त्रको परिणामस्वरूप भएको धारणा पोखरेलेल राखेका थिए ।

‘यो नेपालको कानुनी व्यवस्थालाई खलबल्याउने कामको परिणाम हो भनेर स्वतः बुझ्नु पर्दछ’, उनले भने । वडा कार्यालयदेखि प्रदेशका संरचनासम्म लुटपाट, तोडफोड, आगजनीका घटना सङ्घीयतालाई समाप्त गर्ने योजना अनुसार भएको महासचिव पोखरेलको विश्लेषण छ । जनताको आवाजको प्रतिनिधित्व गर्ने राजनीतिक दलका कार्यालयमा समेत आगलागी हुनुले व्यवस्था नै समाप्त पार्ने योजना भएको उनको दाबी छ । उनले भने,‘राजनीतिक दल माथिको प्रहार भनेको लोकतन्त्रमाथिको प्रहार भनेर बुझ्नु पर्दछ, यो सामान्य कुरा होइन, यस्ता प्रकृतिका आक्रमणलाई सामान्य आक्रोश भन्न सकिँदैन ।’

कर, मालपोत, नापी कार्यालयको आन्दोलन दबाउन कुनै भूमिका नहुने बताउँदै उनले ती कार्यालयमाथिको आक्रमण भनेको राष्ट्रको सामथ्र्य माथिको आक्रमण भएको उनको भनाइ छ । समग्रमा भदौ २३ र २४ को घटना राष्ट्र कमजोर बनाउने षडयन्त्रमूलक घटना भएको महासचिव पोखरेलले बताए । वर्तमान सरकार एनजिओ र आइएनजिओको सरकार भएको उनले दाबी गरे । सरकारले गैह्र सरकारी संस्थालाई जेनजी आन्दोलनको स्टेक होल्डर बनाएको भन्दै नेपालको संविधानले गैह्र सरकारी संस्थालाई आन्दोलनको स्टेक होल्डर बन्ने परिकल्पना नगरेको महासचिव पोखरेलले बताए ।

उनले सरकार गठन प्रक्रियामा जुन प्रवृत्ति देखिएको छ त्यसले संविधान र कानुनलाई खण्डित गर्ने काम गरेको बताए । राजनीतिको जिम्मा राजनीतिक दललाई दिनुपर्ने बताउँदै उनले त्यो कुनै पनि एनजिओ, आइएनजिओले गर्न नसक्ने र नहुने धारणा राखे ।

‘नेपालको प्रहरी १०÷२० हजारको भिडलाई व्यवस्थापन गर्न नसक्ने प्रहरी होइन, हजारौँको भिड व्यवस्थापन गर्न क्षमता राख्ने प्रहरी हो’ उनले भने । भदौ २३ गतेको घटनालाई हेर्दा नेपाल प्रहरीको विगतको अभ्याससँग कतै मेल नखाने र त्यसमा गम्भीर षडयन्त्र भएको दाबी गर्दै महासचिव पोखरेलले भदौ २३ र २४ को घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गरे । अहिले बनेको छानबिन आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आन्दोलनकारीलाई उकास्ने काम गरिसकेकाले उनीबाट निष्पक्ष छानबिन नहुने उनको आरोप छ । त्यसैले अध्यक्ष कार्कीले नैतिक हिसाबले राजीनामा दिनुपर्ने बताउँदै महासचिव पोखरेलले सो घटनाको अनुसन्धान तटस्थ व्यक्तिबाट गराउनुुपर्ने धारणा राखे ।

पोखरेलले प्रतिनिधि सभा विघटन संविधानसम्मत छैन भन्ने कुरा विगतको सर्वोच्च अदालतको फैसलाले स्थापित गरिसकेको बताए । सर्वोच्च अदालतका फैसला कानुनसरह नै हुने भएकाले प्रतिनिधि सभा विघटन संविधान विपरीत भएको दावी महासचिव पोखरेलले गरे । एमाले चुनावबाट भाग्ने पार्टी होइन भन्दै उनले अहिले चुनावको वातावरण नबनेको दाबी गरे । आन्दोलनका नाममा प्रहरीका हतियार लुटिएको र कैदीहरू बाहिर रहेकाले असुरक्षा बढेको बताउँदै महासचिव पोखरेलले त्यसले चुनावमा त्रास फैलाउने र यस्तो अवस्थामा चुनाव हुन नसक्ने धारणा राखे ।

अहिलेको सरकारले नागरिकको सुरक्षा दिन नसक्ने बताउँदै उनले अब नागरिकले आफ्नो सुरक्षा आफैँले गर्नुपर्ने स्थिति आएको र टोल टोलमा सुरक्षा समिति बनाउनुपर्नेमा जोड दिए । गत भदौ २४ गतेको घटनामा सुरक्षा निकायले सरकारलाई सहयोग नगरेको उनले बताए । क्षति कम गर्नको लागि एक्सनमा ननिक्लिएको स्पष्टीकरण नेपाली सेनाले दिएको भए पनि मानवीय क्षतिको हिसाबले भदौ २३ मा भन्दा २४ गते बढी क्षति भएको उनले सुनाए । त्यसैले सो तर्कलाई मान्न सकिने अवस्था नरहेको धारणा महासचिव पोखरेलले राखे ।

भदौ २३ र २४ को घटनालाई युवाको चाहना र त्यहाँभित्र घुसेर गरिएको अपराधलाई छुट्याएर हेर्नुपर्ने उनको धारणा छ । सो घटना कुनै राजनीतिक आन्दोलन वा विद्रोह नभई राजनीतिको आवरणमा गरिएको अपराध भएको महासचिव पोखरेलले बताए । ‘यो राजनीतिक आवरणमा गरिएको राष्ट्र द्रोह हो, राजनीतिको आवरणमा गरिएको अपराध हो’, उनले भने । अहिले विभिन्न आवरणमा जेनजी देखाइएको बताउँदै उनले नव युवाको अनुहार देखाएर अपराधकर्म नगर्न चेतावनी दिए । जेनजीका नाममा एकथरि मानिसहरूलाई जे जे गरे पछि छुट दिइएको र सरकारका गतिविधिका विरुद्ध प्रदर्शन गर्न चाहने युवालाई भने गिरफ्तार गर्ने काम भइरहेको उनले बताए । यो घृणाको राजनीति नगर्न पनि उनको आग्रह थियो । ँले आग्रह गर्नुभयो ।