काठमाडौं, कार्तिक १४ । नेपाली कांग्रेसका नेता प्रकाश रसाईली ‘स्नेही’ले केन्द्रीय समितिको बलमा मात्रै नेपाली कांग्रेस चल्न नसक्ने बताएका छन् । पार्टी विधान र लोकतान्त्रिक चरित्र भन्दा फरक बाटो परम्परागत शैलीबाट चल्न नसक्ने बताउँदै उनले केन्द्रीय समितिको बलमा मात्रै पार्टी चलाउनु विधान विपरित हुने जनाए ।
नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले केन्द्रीय समितिमा जतिसुकै बहुमत भएपनि मंसिर भित्रै विशेष वा नियमित महाधिवेशनबाट भाग्न नसक्ने बताए । उनले भने, ‘कांग्रेसको केन्द्रीय समितिको बैठक भन्दा सर्वाेच्व निकाय महाधिवेशन हो । १५ औँ महाधिवेशनको माग गरेका ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरलाई केन्द्रीय समितिमा त्यो विषय छलफलको एजेन्डाको रुपमा नआउने र त्यसउपर सुनुवाई नहुने अवस्था कांग्रेस केन्द्रीय समितिमा बनेको छ । पार्टीको विधानको धारा उल्लेख गरेर, तीन महिना भित्र विशेष महाधिवेशन गर्ने पद्धतिलाई अनुसार गरेर हामीले विशेष महाधिवेशनको माग गरेका हौ । यदि विशेष महाधिवेशन गर्न सकिदैन भने मंसिरमा हाम्रो म्याद सकिदैछ, त्यो भन्दा अगाडी दुूतमार्गबाट वैधानीक विशेष महाधिवेशन गरौं भन्ने हो । विशेष महाधिवेशनबाट भाग्ने पार्टीको लोकतान्त्रिक चरित्र हाईन् । कांग्रेस परम्परागत शैलीबाट चल्न मिल्दैन् ।’
महाधिवेशन प्रतिनिधिले बुझाएको हस्ताक्षर फर्जी भए त्यसलाई प्रमाणित गरेर देखाउन चुनौती दिदै उनले विशेष महाधिवेशन लागि हस्ताक्षर गर्नेको संख्या अहिले पनि बढ्दै गएको र देशभरबाट दवाव आईरहेकाले बताए । पार्टीका महामन्त्री गगनकुमार थापाले विहिबारको केन्द्रीय समितिको बैठक बहिस्कार नगरेको उनको दाबी छ । पार्टीको विधान नमान्ने व्यक्ति र संस्था लोकतान्त्रिक हुन नसक्ने उनको भनाई छ ।
अव वैधानिक प्रक्रियाबाट विशेष महाधिवेशनको प्रक्रियामा अघि बढ्ने जनाउँदै उनले आफूहरु कसैलाई सभापति बनाउन नभई बहुमत महाधिवेशन प्रतिनिधिको भावनालाई समेट्दै एकतावद्ध भएर पार्टीलाई वैधानिक बाटोमा लैजाने धारणा राखे ।




प्रतिक्रिया