प्रचण्ड र माधव नेपालले नेतृत्व छाडेमात्रै माओवादी र एकीकृत समाजवादीबीच एकता हुन्छः घनश्याम भुसाल


काठमाडौं, १४ कात्तिक । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले नेतृत्व छाडेको खण्डमा मात्रै एकीकृत समाजवादी र नेकपा (माओवादी केन्द्र) बीच एकता हुन सक्ने बताएका छन् । पार्टी केन्द्रीय कमिर्टी बैठकमा महासचिव भुसालले दाहाल, नेपालले नेतृत्व छाड्नुपर्ने प्रस्ताव गरेका हुन् । उनले आफूले राखेको प्रस्तावमाथि पुनर्विचार गर्नसमेत केन्द्रीय कमिटीलाई आग्रह गरे ।

‘घनश्याम भुसालले प्रचण्ड र माधव नेपालले नेतृत्व छाडे भनेमात्रै एकताको कुरा गरौं भन्नु भयो नि त ?’ भन्ने प्रश्नमा उनले भने, ‘त्यो उहाँले प्रस्ताव राख्नुभयो । उहाँले बैठकमा के भन्नुभयो भनेदेखि मैले यस्तो प्रस्ताव राखे, तपाईँहरु पुनर्विचार गर्नुस् । पार्टी एकताको बलियो, राम्रो र व्यवस्थित कतिपय प्रस्तावहरु आयो भनेदेखि म त्यसमा पुनर्विचार गर्छु, हेर्छु । पर्खेर हेरेर मात्रै कुरा गर्छु भन्नुभयो,’– महासचिव भुसालको भनाइ उदृत गर्दै उपाध्यक्ष जगन्नाथ खतिवडाले भने ।

यतिखेर माओवादी केन्द्र र एकीकृत समाजवादी एकताको प्रक्रियामा रहेका छन् । पार्टीको नाम, संगठनात्मक संरचना, पदाधिकारीलगायतका विषयमा सहमति जुटिसकेकोसमेत बताइएको छ । तर, एकीकृत समाजवादीका सधै नेता तथा कार्यकर्ताहरु भने माओवादीसँग एकता गर्न नहुने पक्षमा उभिने देखिएको छ ।