काठमाडौं, १४ कात्तिक । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का पूर्व अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्राईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कुनै ढंगबाट कारागारबाट मुक्त गराउनुपर्ने आवश्यकता औंल्याएका छन् । आज (शुक्रबार) रास्वपाले आयोजना गरेको ‘वृहत् राजनीतिक संवाद’ लाई सम्बोधन गर्दै उनले रविमाथि अलिकति भेदभाव भयो कि भन्ने लागेर आफूले पनि पक्षमा हस्ताक्षर गरेको बताए । रविले बाहिर आएर नै मुद्दा खेप्दाखेरी न्यायपूर्ण हुन्छ भन्ने आफूलाई लागेको डा.भट्टराईले बताए । ‘उहाँको मुद्दामा बाहिर रहेर फेस गर्ने वातावरण बन्न सक्दाखेरी उहाँको जुन क्षमता, प्रतिभा हो, त्यसको प्रयोग पनि हुन पाउँथ्यो भन्ने मलाई लाग्छ,’– डा.भट्टराईले भने ।
नेता भट्टराईले कांग्रेस–कम्युनिष्टलाई परास्त गर्नका लागि नयाँ र वैकल्पिक भनिएका सबै दलहरु एक ठाउँमा आउनुपर्ने बताए । उनले सिके राउत, स्वर्णिम वाग्ले, रेशम चौधरीलगायतलाई एउटै मोर्चामा गोलबद्ध हुनका लागि आग्रह गरे । २००७ सालपछि बनेको कांग्रेस र कम्युनिष्ट भनिएका दलहरुको तलसम्म दह्रो जरा रहेको उनले बताए । ती जराहरु हल्लिएको भए पनि पूरै उखेलिन भने बाँकी रहेको उनले बताए । उनीहरुले गडबडी गरेर र साधन स्रोतको दुरुपयोग गरेर चुनाव जित्ने पनि उनले बताए ।
‘तपाईँहरु सबै न्युनतम कुराहरुमा सहमति भएर एउटै पार्टी बनाउनुस् भन्ने हो । रविजीलाई पनि निकालौं कुनै तरिकाले । उहाँको नेतृत्वको आवश्यकता छ । त्यो सँगै सिकेजी, स्वर्णिमजी, रेशमजी, दुर्गाजीहरुका कलेक्टिभ टिम बनाएर अगाडि जान सक्ने हो भने कांग्रेस र कम्युनिष्ट ब्राण्डका पार्टीहरुले जनतालाई ठगेर जुन दुर्दशामा पुर्याएका छन्, त्यसबाट नेपाली जनतालाई मुक्त गरेर साँच्चैको विकल्प दिन सकिन्छ,’– उनले भने ।




प्रतिक्रिया