ओलीलाई अध्यक्ष बनाएर अब एमाले अगाडि बढ्न सक्दैनः उषाकिरण तिम्सेना (भिडिओसहित)


काठमाडौं, १५ कात्तिक । नेकपा (एमाले) कि केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले पार्टीको ११औं महाधिवेशनबाट केपी शर्मा ओलीलाई अध्यक्ष बनाएर एमाले अगाडि बढ्न नसक्ने बताएकी छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले एमाले अब ओलीको नेतृत्वमा अगाडि बढ्न नसक्ने बताएकी हुन् ।

नेतृ तिम्सेनाले अहिलेसम्मका घटनाको नैतिक जिम्मेवारी लिँदै अध्यक्ष ओलीले ११औं महाधिवेशन अघि नै पदबाट राजीनामा दिनु उपयुक्त हुने पनि उनले बताईन् । उनले भनिन्, ‘अस्ती भदौ २३ र २४ पछाडि हामी जहाँ पुगेका छौं, यो नेपाल भन्ने देश जहाँ पुगेको छ, नेकपा (एमाले) जहाँ पुगेको छ र हाम्रो कमरेड अध्यक्षले जति समय यो पार्टी, सत्ता सञ्चालन गर्नुभयो । त्यसका आधारमा उहाँले यो सबै कुराको नैतिक जिम्मेवारी लिँदै, सबै परिणामहरुको आधारमा मैले छोड्नुपर्छ भनेको हो ।’

एमालेको ११औं महाधिवेशनमा ईश्वर पोखरेल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, योगेश भट्टराई, गोकर्ण विष्टलगायत थुप्रै नेताहरु ओलीसँग प्रतिस्पर्धा गर्न तयार भएर आउने उनले बताईन् । एमाले कमजोर हुनुको कारण ओली पनि रहेको उनले बताईन् ।