माधव नेपालले राम्रोसँग पार्टी सञ्चालन गर्न सक्नुभएन र माओवादी केन्द्रसँग एकताको प्रक्रियामा जानुभयोः झलनाथ खनाल (भिडिओसहित)


काठमाडौं, १५ कात्तिक । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले माधव नेपालले राम्रोसँग पार्टी सञ्चालन गर्न नसकेको टिप्पणी गरेका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पार्टीको विकास र विस्ता हुन नसक्ने स्थिति देखेपछि अध्यक्ष नेपालले माओवादी केन्द्रसँग एकतामा जाने निर्णयमा पुगेको बताएका हुन् ।

‘उहाँले पार्टी राम्रोसँग सञ्चालन गर्न सक्नुभएन । पार्टीलाई अगाडि बढाउन पनि सक्नुभएन । पार्टीको विकास, विस्तार पनि हुनसक्ने स्थिति बनेन । त्यो कारणले नै पार्टीलाई एकीकृत गर्न खोजेको होला । ती कारणहरुको बारेमा हामीले राम्रो समीक्षा गरेर अगाडि जानुपर्छ भन्ने मेरो भनाइ थियो । त्यो मान्नुभएन,’– उनले भने ।

साथै, उनले आफू एकता प्रक्रियामा नजाने र अरु साथीहरुसँग सल्लाह गरेर थप निर्णय लिने उनले बताए । ‘अब हामी सोचिरहेका छौं । अरु साथीहरुसँग पनि सल्लाह गर्छु । प्रष्ट भएर अगाडि बढ्नुपर्ने हुन्छ । अहिले त हामी नेकपा (एस) मै छौं । यसको अवस्था के हुन्छ त अब, त्यो हामी हेर्दैछौं । त्यसको आधारमा टुङ्गो लाग्छ,’– उनले भने ।

साथै, उनले आफ्नी श्रीमती रविलक्ष्मी चित्रकारको उपचारमा सरकारले कुनै पनि प्रकारको सहयोग नगरेको उनले बताए । सरकारमा रहेकाहरुले सोधखोजसमेत नगरेको उनको गुनासो रहेको छ ।