काठमाडौं, १५ कात्तिक । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महासचिव डा.सुरेन्द्र कुमार झाले आफ्नो दलले चुनावलाई स्वागत गरेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानले स्वीकार गरेको बहुलवाद र बहुदलीय प्रतिस्पर्धालाई आफूहरुले निर्वाचनलाई सम्मान गर्ने बताए ।
‘हामी दलीय पद्धतिमा छौं । हाम्रो संविधानले बहुलवादलाई स्वीकार गरेको छ, बहुदलीय प्रतिस्पर्धालाई स्वीकार गरेको छ । बहुलवाद र बहुदली प्रतिस्पर्धा हाम्रो संविधानको आत्मा हो । त्यसलाई हामीले स्वीकार गरेको पार्टीहरु निरन्तर हामी चुनाव लडेर नै आएका छौं । चुनावलाई हामीले स्वागत गर्छौं । चुनाव हुनुपनि पर्छ,’– उनले भने ।
महासचिव झाले जेन–जीको माग अभिव्यक्ति स्वतन्त्रतामा अंकुश हुन हुँदैन र भ्रष्टाचारमुक्त नेपाल कसरी निर्माण गर्ने भन्ने दुईवटा रहेको उनले बताए । उनीहरुको यो मागलाई लोकतान्त्रिक समाजमा कसैले पनि नकार्न नसक्ने नेता झाको भनाइ छ ।
उनले निर्वाचन गर्ने सरकारको तयारीले भने दलहरु विश्वस्त हुन नसकिराखेको उनले बताए । अब लगभग साढे ३ महिना निर्वाचनमा जानको लागि समय रहेको अवस्थामा सरकारले दलहरुसँग अछुतको व्यवहार गरिराखेको उनले बताए ।
प्रधानमन्त्री सुशीला कार्कीले हिजो (शुक्रबार) सम्पादकहरुसँग गरेको अन्तरक्रिया हेर्दाखेरी यो सरकारले चुनाव गराउन सक्छ भन्नेमा आफूलाई विश्वास नलागेको पनि उनले बताए । प्रधानमन्त्री कार्की नेतृत्वको सरकारलाई उनले निरीह सरकारको संज्ञा दिए ।
‘हिजो प्रधानमन्त्रीजी सम्पादकहरुसँग कुराकानी गर्दै हुनुहुन्थ्यो । मैले त उहाँको निरीहता सुन्दाखेरी, उहाँको कुराहरु गराइको अवस्था देख्दाखेरी त मलाई उहाँजस्तो निरीह व्यक्तिले कसरी देशलाई हाँक्न सक्नुहुन्छ ? कसरी निर्वाचन गराउन सक्नुहोला भन्नेमा म चिन्तित छु,’– उनले भने ।
उनले सरकारको रवैया देख्दाखेरी पनि समयमा निर्वाचन हुनेमा विश्वस्त हुन नसकिने बताए । प्रधानमन्त्री कार्कीले डेढ महिनादेखि प्रमुख निर्वाचन आयुक्त खोज्दै हिँडेको उनले टिप्पणी गरे । उनले प्रमुख निर्वाचन आयुक्त कहिले र कहाँ भेटाउने भन्ने कुराको कुनै ग्यारेन्टी नरहेको नेता झाको टिप्पणी रहेको थियो ।
उनले अब सबै राजनीतिक दलहरुले सरकारलाई खोज्दै हिँडेर समयमै निर्वाचनको लागि दवाब दिनुपर्ने बताए । समयमा निर्वाचन गराउन नसक्ने र खुट्टा कमाउने सरकार बदल्नुपर्यो भने पनि त्यसको पक्षमा लाग्नुपर्ने उनले बताए । निर्वाचनको विकल्प नरहेको उनको भनाइ छ ।
नेता झाले जेन–जी पुस्तालाई भएकै दलहरुलाई ‘वाच डग’ को रुपमा रहेर काम गर्न आग्रह गरे । कात्तिक ३० गतेसम्म दल खोलेर निर्वाचनमा सहभागी हुन पनि जेन–जीहरुलाई उनले आग्रह गरे । जेन–जीको योगदानबाट सरकार परिवर्तन भए पनि प्रधानमन्त्री र मन्त्री भने नयाँ मान्छे र जेन–जी उमेर समूहका मान्छे बन्न नपाएको उनले बताए । प्रशासनमा रजगज गरेका कर्मचारीहरुको अनुहार सत्तामा आएको उनले बताए । उनीहरुले नेपाल र नेपालको शासन व्यवस्थाको भरमग्दुर लाभ लिइसकेको नेता झाले बताए ।
जेन–जीहरु एकाकार हुन नसक्दा उनीहरुको आन्दोलन कमजोर हुँदै गएको उनले बताए । संविधानमा कुनै परिवर्तन खोजेको हो भने निर्वाचनबाट आउन र बहुमत ल्याएर परिवर्तन गर्न नेता झाले सुझाव दिए ।




प्रतिक्रिया