काठमाडौं, १५ काठमाडौं । पूर्व उपप्रधानमन्त्री भीम रावलले वर्तमान सरकारले ‘हामी त चुनावमात्रै गराउने हो, संविधान मान्छौं’ भन्ने हो भने प्रधानमन्त्री सुशीला कार्कीको आधिकारिकता र वैद्यतामाथि गम्भीर प्रश्न उठ्ने बताएका छन् । नेता रावलले संविधान मान्छौं भन्ने हो भने नेपालको संविधानले सर्वोच्च अदालतमा पूर्व न्यायाधीश र प्रधानन्यायाधीशलाई मानवअधिकार आयोगबाहेक कुनै पनि सरकारी निकायमा नियुक्तिका लागि रोक लगाएको बताए । वर्तमान सरकारलाई विद्रोह छाडेर संविधानको घेराभित्र बस्छौं भन्ने छुट नरहेको उनको भनाइ छ ।
‘हामी त चुनावमात्रै गर्ने हो, संविधान मान्छौं भन्ने हो भने त गम्भीर प्रश्न उठ्छ । यदि यो संविधानलाई जस्ताको तस्तै मान्छौं र केही पनि गर्दैनौं भने त प्रधानमन्त्रीको आधिकारिकता र वैद्यतामाथि प्रश्न उठ्छ । विद्रोहले मात्रै संविधानविपरीत प्रधानमन्त्री हुन पाइन्छ । यदि विद्रोह होइन, संविधानकै घेराभित्र हामी बस्छौं भन्यो भने नेपालको संविधानले पूर्व न्यायाधीश, प्रधानन्यायाधीशलाई राजनीतिक नियुक्ति मानव अधिकार आयोगबाहेक कहीँ पनि जाने अधिकार छैन,’– उनले भने ।
नेता रावलले राष्ट्रपति रामचन्द्र पौडेललाई अन्तरिम सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने अधिकार नरहेको दाबी गरे । उनले प्रधानमन्त्री कार्की नेतृत्वको सरकारलाई ‘अवैध’ को संज्ञा दिए । ‘राष्ट्रपतिलाई प्रतिनिधिसभाको विघटन यस्तो अन्तरिम सरकारबाट गराउने अधिकार छैन । अनि सरकार अवैध हुँदैन ?’ प्रश्न गर्दै उनले भने ।




प्रतिक्रिया