काठमाडौं, १६ कात्तिक । जेन–जी आन्दोलनका घाइते अभिषेक श्रेष्ठले अहिलेसम्म आफूहरुको एउटा पनि माग सम्बोधन नभएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बसहमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूहरुको मुख्य माग भनेको भ्रष्टाचारीलाई कारबाही, सुशासन कायम र प्रत्यक्ष कार्यकारीको निर्वाचन रहेको बताए । ‘हाम्रो भ्रष्टाचारविरुद्धको आन्दोलन थियो । देशमा सुशासन कायम हुनुपर्यो भन्ने थियो, प्रत्यक्ष कार्यकारी निर्वाचन थियो,’– उनले भने ।
साथै, उनले जेन–जी आन्दोलनको क्रममा गोली हान्न आदेश दिनेलाई कारबाही हुनुपर्ने बताए । उनले परिचालित मान्छेहरुले अहिले जेन–जीलाई विभाजि गरिराखेको आरोप लगाए । सहिद र घाइतेहरुको माग पूरा नभएको देख्दा अहिले पनि वास्तविक जेन–जीहरुको रगत उम्लिराखेको उनले बताए । ‘जेन–जी विभाजित भनेर हामीलाई कमजोर बनाउन लाग्नेहरु भनेको परिचालित हो । उनीहरुबाट त्यो कुराहरु भइराखेको छ,’– उनले भने ।
उनले माटोलाई माया गर्नेहरु नै वास्तविक जेन–जी रहेको बताए । जेन–जी आन्दोलनको क्रममा सहिद हुनेहरु कोही पनि सम्भ्रान्त परिवारको नरहेको उनको भनाइ छ । शोषण र दमन सहन नसकेर आन्दोलनमा आएकाहरु नै असली जेन–जी रहेको उनले बताए ।
साथै, वास्तविक जेन–जीहरु कसैले पनि मन्त्री सिफारिस नगरेको उनले बताए । ‘असली जेन–जीहरुले अहिलेसम्म यसलाई नियुक्ति गर्दिनुस्, यसलाई मन्त्री बनाइदिनुस् भनेको छैन,’– उनले भने ।




प्रतिक्रिया