काठमाडौं, १६ भदौ । नेपाल लिबरल पार्टीका सभापति प्रा.डा.गोपीलाल न्यौपानेले डेडिकेटेड ट्रंकलाइनको बक्यौताको सन्दर्भमा ऊर्जा मन्त्री कुलमान घिसिङ पहिलो दृष्टिमै गलत रहेको बताएका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले कुलमानले पहिलादेखि नै उद्योगविरोधी नीति लिँदै आएको बताएका हुन् । कुलमानले प्रतिशोधको रुपमा उद्योगहरुको लाइन काटेको उनको आरोप छ । सभापति प्रा.डा.न्यौपानेले आफूहरुको मान्यता कलकारखानको कुनै पनि मूल्यमा बन्द हुन हुँदैन भन्ने हरेको बताए ।
‘उहाँले उद्योगविरोधी नीति पहिलादेखि नै लिँदै आउनुभएको थियो । सत्तामा गइसकेपछि उहाँले प्रतिशोधको रुपमा उद्योगहरुको विजुलीको लाइन काट्नुभएको छ । हामी लिबरलहरु उद्योगधन्दा, कलकारखाना कुनै पनि मूल्यमा बन्द हुन हुँदैन भन्ने मान्छे हौं । हाम्रो बेसिक फिलोसफी हो यो,’– उनले भने ।
उनले नेपाल विद्युत प्राधिरकण सार्वजनिक संस्थान भएकाले कसैले महशुल तिर्न नसकेको खण्डमा पनि घाँटी अँठ्याउन नपाउने बताए । राज्यको सम्पत्तिमा सक्नेले तिर्नुपर्ने र नसक्नेले निशुल्क पाउनुपर्ने उनको भनाइ छ ।
‘नेपाल विद्युत प्राधिकरण सार्वजनिक संस्थान हो । कुलमानजीको निजी कम्पनी होइन । देशको सम्पत्ति हो, नेपाली जनताको सम्पत्ति हो । यदि कसैले विजुलीको बिल तिर्न सक्दैन भने घाँटी अँठ्याएर लिन पाइँदैन । त्यो राज्यको सम्पत्ति हो । त्यो साझा सम्पत्ति हो, सक्नेले तिर्छन्, नसक्नेले तिर्दैनन्,’– उनले भने ।
उद्योगहरुले ८ रुपैयाँ युनिटको दरले विजुली चलाए पनि कुलमानले भने १८ रुपैयाँले बिलिङ गरेको उनको दाबी छ । उपभोक्ता उद्योगहरुलाई आफूहरुले डेडिकेटेड लाइन प्रयोग गरेको भन्नेसमेत जानकारी नरहेको बताए । राज्यले झुक्याएर बिल बढाउन नपाउने उनले बताए ।
उनले कुलमान कम्युनिष्ट रहेको दाबी गरे । कुलमानले जालसाँझी र हिपोक्रेशीको कुरा जानेको पनि सभापति प्रा.डा.न्यौपानेले बताए । ‘तपाईँको कम्युनिष्ट सिद्धान्तले नेपाली जनताको रोजगारी खोसियो भने त्यसको जिम्मा कुलमानजीले लिने हो ? आज २० हजार मान्छेले रोजगारी पाइरहेका छन् ती उद्योगहरुमा । विजुली काट्दिएर ती मान्छे बेरोजगार भएपछि २० हजार मान्छेको रोजगारीको जिम्मा कुलमानजीले लिने हो ? यस्तो बेरोजगारीको समस्या छ । रोजगारी दिइरहेका उद्योग बन्द गराएर देश बन्छ ?’ प्रश्न गर्दै उनले भने ।
साथै, उनले उद्योगहरुले नियमित रुपमा तिर्नुपर्ने विजुलीको महशुल तिरिसकेको बताए । कुलमानले एक्ट्रा बिल प्रतियुनिट १८ रुपैयाँको दरले पठाएकोमा मात्रै विवाद भएको प्रा.डा.न्यौपानेको दाबी छ ।
नेपालको उद्योग बन्द गरेर प्रत्येक दिन दुई अर्बको सामान भित्र्याएर कुलमानले भारतको दलाली गरिरहेको नेता न्यौपानेको आरोप छ । उनले कुलमानलाई उदण्डता प्रदर्शन नगर्न र ती उद्योगहरुमा तत्काल विजुली जोड्न आग्रह गरे ।
कुलमानलाई उनले ‘म भगवान हुँ’ भनेर नसोच्न आग्रह गरे । राज्यले नेपाली नागरिकलाई प्रतियुनिट १२ रुपैयाँमा विजुली बेचेर भारत र बंगलादेशमा भने ७ रुपैयाँमा निर्यात गरेको उनले बताए ।
‘तपाईँ नेपालीलाई १२ रुपैयाँमा बेच्नुहुन्छ । विदेशीलाई ७ रुपैयाँमा बेच्नुहुन्छ । अनि गर्व गरेर १४ अर्ब नाफा कमायौं भन्नुहुन्छ,’– उनले भने ।




प्रतिक्रिया