जेन-जी आन्दोलनबाट देशलाई कुनै पनि प्रकारको फाइदा भएनः माओवादी नेता बिडारी (भिडिओसहित)


काठमाडौं, १७ कात्तिक । नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले जेन–जी आन्दोलनबाट देशलाई कुनै पनि प्रकारको फाइदा नभएको टिप्पणी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले जेन–जीहरुले राखेको माग कुनै पनि पूरा नभएको बताएका हुन् । ‘फाइदा मैले त देख्दैदेखिनँ । नोक्सानमात्रै भयो । जेन–जीहरुले जे माग राखेका थिए, त्यो कुनै पनि पूरा भएन । ती नाबालक जेन–जीहरु १९ जना मारिए । २÷३ दिन बन्द भएको फेसबुक खुल्यो,’– उनले भने ।

जेन–जीको नामबाट गणतन्त्रमा आलोचना सुन्न नसक्ने दलहरुका कार्यकर्ताले, कसैको विरोध गरेको कारणले आफूमाथि हमला भएको र घरमा आगजनी गरेको उनले बताए । जेन–जीहरुले आफ्नो घरमा आगजनी गरेको भन्ने कुरामा आफूलाई विश्वास नरहेको उनले बताए ।

नेता बिडारीले जेन–जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा विचाराधीन रहेको अदालतमा आगजनी भएको उनले संकेत गरे । उनले कास्की अदालत, काठमाडौं जिल्ला अदालतलगायतमा आगजनी भएको बताए । जेन–जी आन्दोलनको क्रममा विपी, पुष्पलालको शालिक भत्काइएको, कृष्ण प्रसाद भट्टराईको आश्रममा आगो लगाइएको, रुपचन्द्र विष्टले चढेको गाडी जलाइएको उनले बताए ।

जेन–जी आन्दोलनका क्रममा हिजोका श्री ५ महाराजधिराज पट्टीका कोही मान्छेलाई केही नभएको, राप्रपा, रास्वपाका मान्छे र भ्रष्ट कर्मचारीहरुलाई केही नभएको उनले बताए ।