काठमाडौं, १७ कात्तिक । नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले अदालतले संविधानको अक्षर–अक्षरको व्याख्या गरेको खण्डमा प्रतिनिधिसभा पुनर्स्थापना हुने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस्तो बताएका हुन् । ‘अदालतले संविधानको अक्षर–अक्षर व्याख्या गर्ने हो भने संसद् पुनर्स्थापना हुन्छ,’– उनले भने ।
तर, अदालतले निर्वाचनभन्दा पछाडि उक्त मुद्दाको फैसला दिने खतरा रहेको पनि उनले बताए । अदालतले आवश्यकताको सिद्धान्तको व्याख्या गरेर चुनाव पछाडि सो मुद्दाको फैसला दिन सक्ने उनको भनाइ छ । ‘अदालतले के विर्सिदैन भने उसले त आफ्नो सर्वोच्च अदालत कस्तो भयो ? देख्यो । देशको संसद् कस्तो भयो पनि देख्यो । देशका प्रधानमन्त्री, मन्त्रीहरु कहाँ–कहाँ गए, के–के गरे भन्ने देख्यो । देशका सबै नेताहरु कहाँ–कहाँ पुगे, कसरी लुके देख्यो । देशमा कत्रो विध्वंस भयो देख्यो । कसरी यो सरकार बन्यो भन्ने देख्यो । ठ्याक्कै नजर अन्दाज गरेर गाडाको टागालाई दायाँबायाँ हेर्न नदिनेगरी आँखा छोपेको जस्तो त अदालतले हिड्दैन होला । त्यसकारणले यो निर्वाचन अबको ४ महिनामा हुन्छ । अदालतले फैसला ४ महिनाभन्दा पछि गर्दिए भइगयो । व्याख्या गर्दिए भयो, थेउरी अफ नेसेसिटीको व्याख्या गर्दिए भयो,’– उनले भने ।
साथै, उनले संसद् पुनर्स्थापना आजको आवश्यकता नरहेको र चुनाव नै सबैभन्दा महत्वपूर्ण कुरा रहेको बताए । कांग्रेस र एमाले मिलेर बनेको सरकार असफल हुँदा देशलाई नै अभिश्राप भएको बताउँदै उनले अब जेन–जी पुस्ता बदनाम हुने खतरा रहेको बताए ।




प्रतिक्रिया