जेन-जीलाई निर्वाचन-जसको बिहा, उसैलाई नजिक नल्या भनेजस्तै : बाबुराम


काठमाडौं, कात्तिक १८ । पूर्वप्रानमन्त्री बाबुराम भट्टराईले १६ वर्षको उमेमै भोट हाल्न पाउने व्यवस्था मिलाउन सरकारलाई सुझाव दिएका छन् । जेन–जी पुस्ताको अत्यधिक प्रतिनिधित्व गराउन १८ वा कम्तीमा २१ वर्षको उमेरमै उम्मेदवार बन्न पाउने व्यवस्था मिलाउन पनि आग्रह गरेका छन् ।

भट्टराईले युगान्तकारी र वलिदानीपूर्ण आन्दोलन पछि अब जेनजी लगायतका युवा पुस्ताले निर्वाचन मार्फत देशको नेतृत्व लिएर अघि बढ्ने मार्ग अनुसरण गर्नु उपयुक्त हुने सुझाव दिदै त्यसका लागि मतदाता सूचीमा वेलैमा नाम दर्ता गर्न समेत सुझाएका छन् ।
उनले फेसबुकमा लेखेका छन्, यति युगान्तकारी र वलिदानीपूर्ण आन्दोलन पछि अब जेन-जी लगायतका युवा पुस्ताले निर्वाचन मार्फत देशको नेतृत्व लिएर अघि बढ्ने मार्ग अनुसरण गर्नु उपयुक्त हुन्छ। त्यसनिम्ति मतदाता सूचीमा वेलैमा नाम दर्ता गर्ने काम पहिलो कदम हो। तसर्थ देश-विदेशमा रहनु भएका सबैले नियम अनुसार समयमै नाम दर्ता गर्न सबैलाई हार्दिक आग्रह गर्दछु। नत्र नेपाली राजनीतिमा उही पुरानै चक्र दोहोरिने र युवाहरुले पछुताउनुपर्ने स्थिति आउन सक्छ।

यसको साथै सरकारले र निर्वाचन आयोगले उपयुक्त र सम्भव बाटो अबलम्वन गरेर नागरिकता प्राप्त गर्ने र भोट हाल्ने उमेर एउटै अर्थात् १६ बर्ष गर्नु राम्रो र सहज हुनेछ। त्यस अतिरिक्त निर्वाचनमा उम्मेदवार बन्ने उमेर हद २५ बर्षबाट घटाएर १८ बर्ष वा कमसेकम २१ बर्ष गर्नु आवश्यक छ। नत्र पछिल्लो आन्दोलनका अगुवा जेन-जी युवाहरूलाई आसन्न निर्वाचन ‘जसको विहा उसैलाई नजिक नल्या’ भन्ने लोकोक्ति जस्तो हुनेछ।