काठमाडौं, १८ कात्तिक । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीको महाधिवेशन फगत नेतृत्व परिवर्तनमात्रै हुन नहुने बताएका छन् । केन्द्रीय समिति बैठकमा पार्टीको १५औं महाधिवेशनको कार्यतालिका पेश गर्दै कांग्रेसको महाधिवेशनले युवालाई सम्बोधन गर्न सक्नुपर्ने बताएका हुन् ।
जेन–जी आन्दोलनको प्रसंग जोड्दै उनले प्रस्तावमा भनेका छन्, ‘वर्तमानमा कांग्रेस पार्टीको नयाँ अधिवेशन वा महाधिवेशन भन्नुहोस् त्यो फगत नेतृत्व परिवर्तन मात्र हुनु हुँदैन । त्यसले त युवाहरुलाई सम्बोधन गर्न सक्नुपर्छ ।’
उनले यस्तो बेला पार्टी कसरी अगाडि बढ्ने भनेर नेता तथा कार्यकर्ताबीच बृहत्तर छलफल हुनुपर्ने आवश्यकता पनि औंल्याएका छन् । केन्द्रीय कार्यसमितिको साँघुरो दायराको निर्णय मात्र पर्याप्त नहुने उनको भनाइ छ । उनले यसलाई काङ्ग्रेस खुम्चिने भन्दा पनि फैलिने अवसरको रुपमा हेरिनुपर्ने बताएका छन् । राष्ट्रका सामु उत्पन्न विषम परिस्थितिमा राष्ट्रिय शक्तिले खुम्चिएर होइन फैलिएर नै देशलाई निकास दिन सक्ने उनको तर्क छ । चिन्तनलाई फराकिलो, खुला र उदार बनाउनुपर्ने आवश्यकता उनले औंल्याएका छन् ।
साथै, उनले जेन–जी आन्दोलनको म्यान्डेटअनुसार कार्य गर्न कांग्रेस तत्पर रहेको पनि बताएका छन् । ‘हामीले गर्जन र हुंकारसहित तपाईंहरूको आवाज सुनेका छौं भन्न सक्नुपर्छ । हामीले त्यो आवाजलाई सम्बोधन गर्न त्यो आन्दोलनलाई सम्मान गर्दै एउटा घोषणा आह्वान गर्न सक्नुपर्छ की– कांग्रेस बदलिएको छ र नयाँ सुरुवात गर्न आतुर छ । जेन–जी आन्दोलनको म्यान्डेटअनुसार कार्य गर्न कांग्रेस तत्पर छ,’– उनले भनेका छन् ।




प्रतिक्रिया