खप्तडी बुढाथोकी क्षेत्री सेवा समाजको २६औं वार्षिक साधारणसभा भव्यताका साथ सम्पन्न


काठमाडौं, १८ कात्तिक । खप्तडी बुढाथोकी क्षेत्री सेवा समाज (केबीएस) को २६औं वार्षिक साधारणसभा भव्यताको साथ सम्पन्न भएको छ । सोमबार दाङको घोराहीस्थित होटल माला ईनमा नेपाल संस्कृत विश्वविद्यालयका उपकूलपति प्रा.डा.धनेश्वर नेपालको प्रमुख आतिथ्यमा केबीएसको २६औं वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

वार्षिक साधारणसभाले अध्यक्षले पेश गरेको प्रतिवेदन, महासचिवको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन र वार्षिक लेखापरीक्षण अनुमोदन गरेको छ । वार्षिक साधारण सभाले आगामी दिनका लागि लेखापरीक्षकसमेत नियुक्ति गरेको छ ।

केबीएसका केन्द्रीय उपाध्यक्ष डम्बर बुढाथोकीका अनुसार साधारणसभाले कौशिक गोत्रका बुढा, बुढाथोकी, विसी परिवारको वंश गान अनुमोदन गरेको छ । ‘हामीले देशैभरीबाट कौशिक गोत्रका हामी बुढा, बुढाथोकी, विसी कुलवंश परिवारको वंश गान आह्वान गरेको थियौं । कौशिक गोत्रका बुढाथोकीहरुको उत्कृष्ट वंश गान हरिभक्त बुढाथोकीले तयार पारेर दिनुभएको थियो । त्यसलाई अनुमोदन गरिएको छ,’– उनले भने ।

खप्तडी बुढाथोकी क्षेत्री सेवा समाजका संस्थापक सदस्य समेत रहेका हरिभक्त बुढाथोकीले स्थापना गरेको ‘हरिभक्त बुढाथोकी बन्धु कल्याणकारी कोष’ बाट दाङका ९२ वर्षीय ढुण्डीराज बुढाथोकी र प्युठानकी ८५ वर्षीय झै कुमारी बुढाथोकीलाई सम्मान गरिएको छ । त्यसैगरी जेहनदार छात्रा पुरस्कार दाङ जिल्ला, घोराही नगरपालिकाकी कोमल बुढाथोकी र रोल्पा चुनकुमारी बुढाथोकीलाई प्रदान गरिएको छ । जेहनदार छात्रा पुरस्कारको राशी जनही ७ हजार ५ सय रहेको थियो ।

साथै, केबीएसको लुम्बिनी प्रदेशको दोस्रो साधारण सभा र दाङ जिल्ला कार्यसमितिको प्रथम साधारणसभा पनि सम्पन्न भएको छ । दाङ जिल्ला कार्यसमितिको अध्यक्षमा केदारमान बुढाथोकी र लुम्बिनी प्रदेश कार्यसमितिको अध्यक्षमा इन्द्र बुढाथोकी चयन भएका छन् ।