काठमाडौं, कार्तिक १९ । सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारा मन्दिरमा आज भव्य मेला लागेको छ। डडेल्धुरामा रहेको उग्रतारा भगवती मन्दिरमा आज भव्य मेला (देहीजाँत) लागेको छ। मंगलबार राती (रतेडी) र आज दिउँसो (उसेडी) लागेको उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ।
उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला लाग्छ। राति लाग्ने मेलालाई ‘रतेडी’ र दिउँसो लाग्ने मेलालाई ‘दिउसेडी’ भनिन्छ।
खनमडा, छचोडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आइ दिउसेडी मेला सुरु भएको उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ।
धार्मिक परम्परागत रुपमा दाईन दमाह, रुईसिंग, बिकुल, भोकर, शंक, घण्टा इत्यादी बाजागाजाका साथ चार वटा गाउँबाट माता भगवतीको डोलीसहित देउरो उग्रतारा मन्दिरमा पुगेसँगै भगवती माताको पुजन सुरु हुन्छ। सेलागाउ–जिलोडा , खनमडा, छचोडा, दुमडाका भ्राण बाट बाजागाजा समेत देउरो मेलाको दिन बिहानै पुग्ने र त्यस पछि जात्रा सुरु हुने प्रचलन छ।
बिहानको पूजापछि दिउँसो भगवती माताको गाँज मन्दिर लगायत सयौं एकडमा फैलिएको मैदानको विषेश चार स्थानमा बाजागाँजाका साथ घुमाइन्छ। बिहान चार वटै गाउँको भ्राणबाट ल्याइएको माता भगवतीको देउरो बेलुका पाँच बजेपछि पुनः चार वटै गाउँको भ्राणमा लगेपछि मेला सम्पन्न हुन्छ।
डडेल्धुरा सदरमुकामबाट ४ किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को दशरथचन्द राजमार्गसँगै सुन्दर डाँडामा अवस्थित महाशक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलामा हजारौँ दर्शनार्थी पूजा–आराधना गर्न आउँछन्।
किंवदन्तीअनुसार परापूर्वकालमा स्थानीय साँकी जातीका किसानले हलो जोत्दा शिलामा हलो अड्किएर रगत निस्किएको थियो। सो रगतलाई आफूले खानाको रूपमा खान ल्याएको खिचडीले टालेर रोकिएपछि देवी उत्पन्न भई दर्शन दिएको र स्थापना गरिएको विश्वासमा त्यसबेलादेखि कार्तिक शुक्ल पूर्णिमाका दिन पूजा र मेला लाग्ने परम्परा छ।
देहिजाँतको महत्त्व र रोचक जात्रा भनेको सुदूरपश्चिमको जनजीवन झल्किने विभिन्न दृश्यहरू, इष्टमित्र, साथी संगी तथा परिवारजनमा वर्ष दिन अथवा अपूर्व भेटघाट तथा दुःख सुख साटासाट, सुदूरपश्चिमको लोकप्रिय खाना माँडा देहिजाँतमा देख्न सकिन्छ। तर भगवतीको गाथाको रूपमा गाइने डेउडा भने खेलिँदैन। उग्रतारा भगवती मेलामा सुदूरपश्चिम, कर्णाली प्रदेश तथा छिमेकी देश भारतबाट समेत श्रद्धालु आउने गरेका छन् । मानसरोवर जान नसक्नेले उग्रताराको दर्शन गरे मनोकाक्षा पुरा हुने जनबिश्वास छ ।




प्रतिक्रिया