सरकारलाई जेन-जी युनाइटेडको सुझावः निर्वाचन अगाडि नै शासन प्रणाली र प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्थाबारे विचार गरियोस्


काठमाडौं, १९ कात्तिक । जेन–जी युनाइटेड समूहले अहिलेसम्म भएका उपलब्धी र आगामी कार्यक्रमबारे जानकारी गराएको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा जेन–जी युनाइटेड मुभमेन्टको टिमले अहिलेसम्म देशका विभिन्न जिम्मेवार र प्रेरणादायी व्यक्तित्वसँग भेटघाट गरी राष्ट्रिय एकता, सहिदको सम्मान र युवाको भविष्यको विषयमा गहिरो संवाद गरेको बताइएको छ ।

जेन–जी युनाइटेड मुभमेन्टको टिमले प्रधानमन्त्री सुशीला कार्की, ऊर्जामन्त्री कुलमान घिसिङ, सञ्चारमन्त्री जगदीश खरेल, स्वास्थ्यमन्त्री डा.सुधा शर्मा गौतमलगायतलाई भेटेर ध्यानाकार्षण गराइएको बताइएको छ । सो क्रममा जेन–जीहरु बीचको एकताका लागि सरकारले अभिभावकको रुपमा भूमिका खेल्दै सबै युवालाई एउटै राष्ट्रिय मञ्चमा एकीकृत गर्न सहयोग गर्नुपर्र्ने बताएका थिए ।

जेन–जी आन्दोलनपछि नयाँ उत्साह, आशा र परिवर्तनको अपेक्षा जन्मिएकोमा त्यो आशा अझै पूरा हुन नसकेको गुनासो पनि उनीहरुले सरोकारवालाई सुनाएका छन् । उनीहरुले जेन–जी आन्दोलनको क्रममा दमन गर्न आदेश दिने दोषीमाथि कारबाही नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । जेन–जी आन्दोलनको क्रममा सहिद भएका, घाइते भएकाहरुको देशले उनीहरुको योगदान र बलिदानलाई नीतिगत रुपमा नै मान्यता दिनुपर्छ भनेर ध्यानाकर्षण गरेको बताइएको छ ।

आगामी निर्वाचन अगाडि नै शासन प्रणाली र प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्थाबारे विचार गर्न पनि जेन–जी युनाइटेड मुभमेन्टको टिमले सरकारसँग अनुरोध गरेको छ ।