कांग्रेसका भातृ संगठनहरुद्वारा युवा पुस्तालाई समेट्नेगरी नियमित महाधिवेशनको माग


काठमाडौं, १९ कात्तिक । नेपाली कांग्रेसको भातृ संगठनहरुले युवा पुस्तालाई समेट्नेगरी नियमित १५औं महाधिवेशनको माग गरेका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कांग्रेसका भातृ संगठनहरु नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ, किसान संघलगायतले नियमित महाधिवेशन र आसन्न निर्वाचनको सन्दर्भमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

कांग्रेसका भातृ संगठनहरुले युवा पुस्तालाई समेट्नेगरी नियमित महाधिवेशन हुनुपर्ने, आगामी फागुन २१ मा हुने निर्वाचनमा भाग लिनुपर्ने, निर्वाचनमा कांग्रेसले ५० प्रतिशत युवा सहभागिता गराउनुपर्ने, जेन–जी समूहलाई पनि निर्वाचनमा सहभागी गराउनुपर्ने बताएको हो ।

कार्यक्रममा नेविसंघका केन्द्रीय सदस्य आदर्श मल्ल, तरुण दल केन्द्रीय सदस्य विणु लामा, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि अब्दुल हुसेन अनसारीलगायत सहभागी रहेका थिए ।