पदको बार्गेनिङपछि नेपाली कम्युनिष्ट पार्टी घोषणा कार्यक्रममा पुगेका झलनाथले भने, ‘कहिल्यै नफुट्ने संकल्पको साथ अगाडि बढौं’


काठमाडौं, १९ कात्तिक । पूर्व प्रधानमन्त्री झलनाथ खनालले १० वाम घटकहरुबीच एकता भएर बनेको नेपाली कम्युनिष्ट पार्टीका नेताहरुले कहिल्यै नफुट्ने संकल्पको साथ अगाडि बढ्नुपर्ने बताएका छन् । एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनाले विगतमा पनि कम्युनिष्ट पार्टीबीच एकता हुँदा र ए र कता छुट्टाछुट्टै भएको बताए । अब ए र कतालाई जोडेर बलियो एकता बनाउनुपर्ने उनले धारणा राखे । उनले अहिले एकताभन्दा बाहिर रहेका कम्युनिष्ट घटकहरुलाई पनि एकता अभियानमा जोडिन आग्रह गरे ।

नेता खनालले भने, ‘कहिल्यै फुट्ने छैनौं, यो संकल्पको साथ अगाडि बढौं । यो भन्दा अगाडि पनि हामीले एकता त गर्यौं नि कमरेडहरु । तर ए बेग्लै भयो कता बेग्लै भयो । ए कता ? पो भयो । अब चाहिँ ए र कता जोडेर एकता । यो हामीले गर्नुपर्ने आवश्यकता छ । हामी यहाँ जम्मा भएका पार्टीभन्दा बाहिर पनि साथीहरु थुप्रै छन् । ती साथीहरुलाई पनि म आह्वान गर्न चाहन्छु– कमरेडहरु नयाँ ढंगले सोचौं । जेन–जी आन्दोलनले पनि नयाँ ढंगले सोचौं भन्दै छ । त्यसो हुनाले हामी नयाँ ढंगले सोचौं । हामी साझा आधारमा कार्यगत एकता गरेर पनि अगाडि बढ्न सक्छौं । त्यो कुरालाई पहिल्याउँ ।’

साथै, उनले एउटा कम्युनिष्टले अर्को कम्युनिष्टलाई गाली गलौजको भाषा बन्द गर्नुपर्ने उनले बताए । एकअर्कामा नीतिगत र सैद्धान्तिक संघर्ष आवश्यक रहेको पनि नेता खनालले बताए । नेता खनालले गाली र गलौज गर्ने, अनावश्यक आरोप लगाउने र अर्कोलाई बदनाम गर्ने प्रचलनबाट कम्युनिष्टहरु मुक्त हुनुपर्ने आवश्यकता औंल्याए ।

नेता खनालले अब नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी र नेतृत्वदायी कमिटीमा ५० प्रतिशत युवाहरुको सहभागिता गराउनुपर्ने बताए । उनले नेपाली कम्युनिष्ट पार्टीलाई बलियो कम्युनिष्ट पार्टी, जनतामुखी पार्टी र वर्गको बीचमा गएर काम गर्ने पार्टी बनाउन सक्नुपर्ने आवश्यकता औंल्याए ।

‘अब हामीले एकीकृत पार्टी निर्माण गरेर अगाडि बढिरहँदा हामीले हाम्रो केन्द्रीय समितिमा, अथवा नेतृत्वदायी कमिटीहरुमा ५० प्रतिशत युवाहरुलाई ठाउँ दिऊ । त्यसबाहेक अरु सबै अनुभवी साथीहरुलाई विभिन्न ठाउँमा राखेर काम गरौं । एउटा बलियो कम्युनिष्ट पार्टी, जनतामुखी पार्टी, वर्गको बीचमा गएर काम गर्ने पार्टी, राष्ट्रव्यापी पार्टी, समाजवादी लोकतन्त्रको मूल्य मान्यतालाई उपयोग गर्ने पार्टी निर्माण गरौं,’– उनले भने ।

कार्यक्रममा गएर कहिल्यै नफुट्ने संकल्प गर्न आश्वान गरेका नेता खनाल भने पदको बार्गेनिङ पनि एकता सभामा पुगेको खुलेको छ । उनलाई नेपाली कम्युनिष्ट पार्टीमा तेस्रो वरियता दिने सहमति भएको बताइएको छ । आज विहान पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरुसँग भेटेर खनालले आफ्नो वरियता सुनिश्चित गरेका थिए ।