प्रधानमन्त्री कार्कीलाई पूर्व प्रधानमन्त्री नेपालको सुझावः संविधानको रक्षा गर्दै समयमै निर्वाचन सम्पन्न गर्नेगरी अगाडि बढ्नुस्


काठमाडौं, १९ कात्तिक । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संविधानको रक्षा गर्दै समयमै निर्वाचन सम्पन्न गर्नेगरी अगाडि बढ्न प्रधानमन्त्री सुशीला कार्कीलाई सुझाव दिएका छन् । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत १० कम्युनिष्ट घटकहरुबीचको एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले समयमै स्वतन्त्र, धाँधलीरहित, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन गराउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

‘अब चुनाव आउँदै छ । चुनावको सन्दर्भमा पनि हामीले अगाडि बढ्नुपर्ने हुन्छ । वर्तमान सरकारलाई पनि हामीले सहयोग गर्नुपर्छ । प्रधानमन्त्री सुशीला कार्कीलाई म यही मञ्चबाट भन्न चाहन्छु– तपाईँ दृढताका साथ संविधानको रक्षा गर्दै अगाडि बढ्नुहोस् । समयमा निर्वाचन सम्पन्न गर्नेगरी, धाँधलीरहित, स्वतन्त्र, निश्पक्ष र शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्नेगरी अगाडि बढ्नुहोस्,’– उनले भने ।