व्यवस्था परिवर्तन हुने र परिस्थिति परिवर्तन नहुने अवस्थाले अस्थिरता ल्याउँछः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ


काठमाडौं, १९ कात्तिक । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले देश पटक–पटक सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिनुपरेकोमा चिन्ता व्यक्त गरेका छन् । करिब एक दशकको अन्तरमा हुने आन्दोलन नै देशको स्थिरता र विकासको बाधक भएको उनले बताए ।

राष्ट्रिय एकताका लागि नागरिक पहलले ललितपुरमा आयोजना गरेको ‘राष्ट्रहित सर्वोपरी–२०८२’ कार्यक्रममा उनले हरेक आन्दोलनबाट व्यवस्था परिवर्तन हुने भए पनि जनताको अवस्थामा परिवर्तन हुन नसक्दा सधैँभरी असन्तुष्टि पैदा हुने र त्यसले सङ्क्रमणकालीन अवस्था निम्त्याउने बताए ।

‘नेपालमा आन्दोलन धेरै भएका छन् । प्रायःजसो १० वर्षको आसपासमा विभिन्न कालखण्डमा केही न केही आन्दोलन गरिरहन्छौँ । आन्दोलन हुने, व्यवस्था परिवर्तन हुने र परिस्थिति परिवर्तन नहुने भइराखेको छ, यस्तो सङ्क्रमणकालीन अवस्थाले मुलुकमा अस्थिरता ल्याउँछ,’– उनले भने ।