केपी ओलीको दम्भ, घमण्ड र दमन सहन नसकेर पार्टी फुटाएका थियौं, अहिले माधव नेपाल हजुरबा बनेर निस्किएः किसान श्रेष्ठ (भिडिओसहित)


काठमाडौं, १९ कात्तिक । नेकपा (एकीकृत समाजवादी) का नेता किसान श्रेष्ठले माधव कुमार नेपालाई राजनीतिक भ्रष्टाचारीको संज्ञा दिएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले माधव नेपालले एमालेबाट फुुटाएर आफूहरुलाई बिगारेको र अहिले अर्को समूहमा गएर राजनीतिक भ्रष्टाचार गरेको बताएका हुन् ।

”राजनीतिक भ्रष्टचारी त हो नि त । एमाले फुुटाएर हामीलाई बिगार्ने, अनि अहिले अर्को समूहमा किन जाने ? यही पार्टी बनाउनुपर्थ्यो नि त हामीलाई रोक्नलाई त । उहाँको पछि लागेर किन जाने म ?” प्रश्न गर्दै उनले भने ।

साथै, उनले त्यो बेलामा एमाले अध्यक्ष केपी शर्मा ओलीको दम्भ, घमण्ड, दमन सहन नसकेर पार्टी विभाजन गरेकोमा अहिले माधव नेपाल त्यसको पनि हजुरबा बनेर आएको बताए ।

”त्यो बेलामा नेकपा (एमाले) का अध्यक्ष केपी ओलीको दम्भ, घमण्ड, दमन सहन नसकेर विद्रोह गरियो । पार्टी नै फुटाइयो । उसको त हजुरबा माधव नेपाल निस्किए । हामीले त फुटाएर आएका थियौं । उहाँले त अन्त लगेर मिसाइदिनुभयो । अनि पछि-पछि किन लाग्ने हामी ?” प्रश्न गर्दै उनले भने ।