एमालेलाई पनि एकतामा ल्याएर एउटै कम्युनिष्ट केन्द्र बनाउँछौंः देवेन्द्र पौडेल (भिडिओसहित)


काठमाडौं, २० कात्तिक । नेपाली कम्युनिष्ट पार्टीका नेता देवेन्द्र पौडेलले नेकपा (एमाले) सँग पनि बहस चलाएर एउटै कम्युनिष्ट केन्द्र बनाउने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिलेको विशिष्ठ अवस्थाको समीक्षा गरेर, कोहीप्रति पनि पूर्वाग्राही नभई एउटै कम्युनिष्ट केन्द्र बनाउनेतिर लाग्ने बताएका हुन् । वामपन्थीहरु एउटै केन्द्रमा आउनु आजको आवश्यकता रहेको उनले बताए ।

‘एमालेसँग त्यस्तो कुनै पूर्वाग्रह हाम्रो छैन । खासगरी एमालेको अहिलेका बहालवाला अध्यक्षले अलिकति बढी कटाक्ष गरेर तरिका नमिलाएको हुँदाखेरी पहिलाको एकता टुटफुटमा गएको हो । एमालेभित्रका धेरै इमानदार साथीहरु हुनुहुन्छ । समाजवादी क्रान्ति सम्पन्न गरेर देशलाई समृद्धिको बाटोमा लगिजाने हो भने वामपन्थी पृष्ठभूमिका एउटै केन्द्रमा आउने र लोकतान्त्रिक शक्ति जसको मूलधारको रुपमा कांग्रेसले नेतृत्व गर्छ, सहकार्य गरेर अगाडि बढ्ने कुरा नै आजको आवश्यकता होे । त्यो आवश्यकतामा अगाडि बढ्नका निम्ति एमाले पृष्ठभूमिका साथीहरु पनि इतिहासको यो विशिष्ठ अवस्थामा समीक्षा गरेर आउनुहुन्छ । हामी केही विषयमा पूर्वाग्राही छैनौं । उहाँहरुसित पनि हामी बहस चलाएर एउटै कम्युनिष्ट केन्द्र बनाउनका निम्ति अगाडि बढ्छौं,’– उनले भने ।

साथै, उनले चुनाव घोषणा भए पनि सुनिश्चितता भने नदेखिएको बताए । अहिलेको वाम एकता चुनाव, सरकार बनाउन र भर्खरै कुनै लाभ हानीको निम्ति नभएर २००६ सालदेखि ०८२ सालसम्म आइपुग्दा हाम्रो टुट–फुट र विभाजनका नमिठा कुराहरुलाई गम्भीरतापूर्वक ग्रहण गर्दै आत्मसमीक्षाका साथ मूल्याङ्कनसहित निर्णय लिइएको उनले बताए । नेपाली कम्युनिष्ट पार्टीलाई मुलधारको रुपमा अगाडि बढाइने उनले बताए ।

नेता पौडेलले निर्वाचन हुने सकेन भने देश झन अस्थिरतातिर जाने संकेतहरु देखापर्ने बताए । निर्वाचन अनिवार्य रहेको र निर्वाचनद्वारा नै नयाँ सरकार गठन हुने प्रक्रियामा जानुपर्ने उनले बताए । दलहरुले नै जनताको बीचमा एजेण्डा प्रस्तुत गरेर सिट बढाएर सरकार गठन गर्नुपर्ने उनले बताए । नेता पौडेलले आफूहरुको अहिलेको मुख्य एजेण्डा नै निर्वाचन रहेको बताए ।