नयाँ पुस्तालाई नेतृत्वमा ल्याएर राजनीतिमा युवा आकर्षण बढाउँदै लैजानुपर्छ: युवराज ज्ञवाली


काठमाडौं, २१ कात्तिक । नेकपा (एमाले) का नेता युवराज ज्ञवालीले एमालेको नयाँ नेतृत्व युवा वर्गबाट हुनुपर्ने बताएका छन् । पार्टीको ११औँ महाधिवेशनमा २० वर्षदेखि ४० वर्षसम्मका उल्लेख्य युवाको सहभागिता रहने जानकारी दिँदै उनले अहिलेको विज्ञान र प्रविधिको युगमा पार्टीलाई उदयमान जनशक्तिलाई नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा जोड दिए ।

नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस कार्यक्रम’मा बोल्दै उनले राजनीतिमा युवाको आकर्षण बढाउन, अन्तर विरोध हटाउन र युगलाई ठीक हिसाबले नयाँ नेतृत्वबाट अघि बढाउन एमालेमा पनि युवा नेतृत्व आवश्यक रहेको बताए ।

उनले भने, ‘पुराना नेताले विभिन्न कालखण्डमा गरेका महत्वपूर्ण योगदानको उचित मूल्याङकन गर्दै उहाँहरुलाई स–सम्मान विदाई गरेर नयाँ युवालाई अवसरमा ल्याउनुपर्छ । अहिले संसारभर युवा नेतृत्वप्रति जनताको भरोशा बढ्दै गएकाले एमाले भित्रपनि युवाहरुको सदस्यता बढाउने, विभिन्न नेतृत्वमा ल्याउने, महाधिवेशनमा युवाहरुको ठूलो प्रतिनिधित्व गराएर पार्टीमा नयाँ युवा नेतृत्वको विकास गर्नुपर्छ भनेर पार्टीमा छलफल भइरहेको छ । पार्टी र देश विकासका लागि नयाँ पुस्तालाई नेतृत्वमा ल्याएर राजनीतिमा युवा आकर्षण बढाउँदै लैजानुपर्छ भन्नेबारे हामी सकारात्मक छौ ।’

पार्टी नेतृत्व परिवर्तनबारे पार्टीको आगामी सचिवालय बैठकमा धुनिगत छलफल गरिने उनको भनाई छ । संकट समाधान गर्ने अहिलेको समयमा नयाँलाई नेतृत्वमा ल्याएर पुरानालाई विश्राम दिने परिपाटीको सुरुवात एमालेबाटै हुने दाबी गर्दै उनले पार्टी नेतृत्वको विषयमा हानथाप गर्न नहुने र अहिले देश, समाजको विश्वव्यापी आवश्यकताअनुसार पार्टीमा नयाँ नेतृत्व आउनुपर्ने धारणा राखे ।