काठमाडौं, २१ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं अधिवक्ता यज्ञमणि न्यौपानेले कसको नेतृत्वमा निर्वाचनमा जाने भन्ने कुरामा पार्टीभित्रबाट पृथक दृष्टिकोण आवश्यक रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पार्टी सभापति रवि लामिछाने मुद्दाको कारण थुनामा रहेको र थुनामा रहेको व्यक्ति प्रधानमन्त्री बन्ने सम्भावना पनि नहुने र उसकै नेतृत्वमा चुनावमा जानु पनि उपयुक्त नहुने बताएका हुन् । उनले यसबारेमा पार्टीको विस्तारित बैठकमा छलफल हुनुपर्ने बताए ।
‘उहाँमाथि मुद्दा छ, त्यो मुद्दाको कारण थुनामा बस्नुपरेको आजको परिस्थिति छ । थुनामा रहेको व्यक्ति प्रधानमन्त्री हुने अवस्था हुँदैन । उहाँको थुना लम्बिँदै गयो भने त्यसको विषयमा पनि पार्टीभित्र चाहिँ बृहत्तर छलफल भएर आगामी निर्वाचनको नेतृत्वको सन्दर्भमा पृथक दृष्टिकोण आउँछ,’– उनले भने ।
साथै, उनले रास्वपा चुनावमा जान तयार रहेको पनि बताए । उनले चुनावमा जाँदाखेरी वैकल्पिक राजनीतिक शक्तिहरु एकै ठाउँमा बस्ने वातावरण नबनेको खण्डमा नागरिकमाथि दोका दिएको ठहर्ने पनि बताए । उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी चुनावमा जान्छ, जानुपर्छ । चुनावमा जाँदैगर्दा वैकल्पिक राजनीतिक शक्तिहरु सबै एकै ठाउँमा बस्ने वातावरण तयार गर्नुपर्छ । त्यो गरिएन भने नागरिकलाई धोका दिएको ठहर्छ ।’
उनले अब प्रतिनिधिसभा पुनर्स्थापनाको औचित्य नरहेको पनि बताए । प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा जानु जेन–जी विद्रोहको विरुद्ध हुने उनले बताए । ‘जेन–जी पुस्ताले समाप्त गरेको जुन प्रतिनिधिसभा छ, जसको अर्थ र औचित्य यो देशमा छैन भनेर उहाँहरुले त्यसलाई परास्त गर्नुभयो । त्यही चिज ब्युँताउनु भनेको जेन–जी विद्रोहको विरुद्ध जानु हो । विकल्पलाई संस्थागत नगर्नु हो, परिवर्तनलाई आत्मसात नगर्नु हो । यसो गरियो भने देश कहिल्यै पनि विकास, उन्नति र समृद्धिको दिशामा जाँदैन । यथास्थितिमा जान्छ र प्रतिगमनतर्फ फर्केको ठहर्छ,’– उनले भने ।




प्रतिक्रिया