काठमाडौं, २० कात्तिक । नेसनल प्याव्सन भक्तपुरको आयोजनमा आफ्ना सदस्य विद्यालयहरुको कक्षा १० मा अध्ययनरत विद्यार्थीहरु र गणित विषय शिक्षकको लागि अनिवार्य गणित विषयको एक दिने एसईई अभिमुखीकरण कार्यक्रम–२०८२ सम्पन्न भएको छ ।
यस शैक्षिक वर्ष २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सम्मिलित हुने विद्यार्थीहरुलाई गणित विषयको अभिमुखीकरण गणित शिक्षा परिषद्का राष्ट्रिय अध्यक्ष एवं विषय विज्ञ डा.रमेश प्रसाद अवस्थीले गरेका थिए । नेसनल प्याव्सन भक्तपुरमा आवद्ध सदस्य विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि गरिएको प्रशिक्षण कार्यक्रममा गणित विषयलाई कठिन रुपमा नलिई कसरी सहज र सरल बनाई सिक्न र सिकाउन सकिन्छ भनेर अन्तर्क्रिया गरिएको थियो ।
विद्यार्थीहरुले गणित विषयलाई बोझ र कठिन रुपमा बुझ्ने गरेकाले परीक्षाको समयमा गणित विषयलाई डरको रुपमा नभई सहज बनाउन अभिमुखीकरण कार्यक्रम राखिएको जानकारी नेसनल प्याव्सन भक्तपुरका कार्यसमिति सदस्य रमेश प्रसाद सिटौलाले दिएका थिए । कार्यक्रममा संस्थाका उपाध्यक्ष रामप्रसाद खाताखोले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको औचित्य पुष्टि गरेका थिए ।
नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले गणित विषयलाई व्यवहारिक ज्ञानसँग जोडेर हेर्नु पर्ने बताउदै अभिमुखीकरण कार्यक्रममा डा.रमेश प्रसाद अवस्थीले दिएको उपायहरुलाई अपनाई अध्ययन गर्न प्रेरित गरेको थियो । गणित विषयलाई पनि दैनिक अभ्यास र क्रियाकलापको माध्यमबाट सिकाई गरेमा सहज हुने बताउँदै नेसनल प्याव्सन भक्तपुरले अर्को महिनामा अनिवार्य विज्ञान र सामाजिक विषयको पनि कक्षा १० का विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम गरिने जनाएको छ ।





प्रतिक्रिया