‘कांग्रेस, एमाले र माओवादीले सत्तालाई ‘म्युजिकल चेयर’ बनाएर लोकतन्त्रको आवरणमा ‘दलतन्त्र’ लादेपछि जेन-जी विद्रोह भयो’


काठमाडौं, २१ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गत भदौं २३ र २४ गते भएको जेन-जी आन्दोलनलाई पुराना दलको शासकीय अनैतिकता र अक्षमताको परिणाम भनेको छ । चितवनको सौराहमा जारी रास्वपाका विस्तारित केन्द्रीय समितिको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै रास्वपा उपसभापति डोलप्रसाद अर्यालले जेन–जी आन्दोलन अप्रत्याशित र आश्चर्यजनक नरहेको बताएका हुन् । आफूहरुलाई ढिलो चाँडो यस्तो हुन्छ भन्ने कुरामा पहिलादेखि नै शंका रहेको पनि उनले प्रतिवेदनमा उल्लेख गरेका छन् ।
रास्वपाका नेताहरुले परिस्थितिका बारेमा निरन्तर सचेत गराउँदै आउँदा पनि संसदीय अंकगणितको बलमा शासकीय अहंकार, दम्भ र अर्कमण्यता बढ्दै जाँदा नागरिकमा चुलिदै गएको आक्रोश विस्फोट भएको प्रतिवेदनमा उल्लेख छ । उपसभापति अर्यालले कांग्रेस, एमाले र माओवादीले सत्तालाई ‘म्युजिकल चियर’ बनाएर लोकतन्त्रको आवरणमा दलतन्त्र लादेपछि जेन–जी आन्दोलन भएको उल्लेख गरेका छन् ।

‘लोकतान्त्रिक र संसदीय मूल्य मान्यता विपरीत संसदका तीन ठूला दलले सत्तालाई ुम्युजिकल चेयरु बनाएर लोकतन्त्रको आवरणमा ुदलतन्त्रु लादेपछि यस्ता दुर्घटना अवश्यम्भावी थियो । र, भयो पनि । अझ, दुई ठूला दल कांग्रेस र एमाले मिलेर बनेको सरकारले नागरिकका जायज आवाजसमेत नसुनी तिनको स्वतन्त्रता खुम्च्याएर लोकतन्त्रको आवरणमा दोहन, दलीयकरण र निरंकुशता लाद्ने जुन प्रपञ्च गन्यो, त्यहीबाट बढेको आक्रोश जेन जीको नाममा विस्फोट भएको हो,’– प्रतिवेदनमा भनिएको छ ।