काठमाडौं, २२ कात्तिक । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले केपी ओली सुध्रिएर आएको खण्डमा आफूहरु एउटै पार्टीमा रहने सम्भावना रहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले ओलीमा रुपान्तरण, सुधार र परिवर्तन भएको खण्डमा र गल्ती भयो भनेर आत्मालोचना गरेको खण्डमा एउटै पार्टीमा पनि रहन सकिने बताएका हुन् ।
‘तपाईँ र केपी शर्मा ओली अब पार्टीमा सँगै रहने दिन आउँछ, सम्भव छ ?’ भन्ने प्रश्नमा उनले भने, ‘किन हुँदैन ? रत्नाकर डाकू वाल्मिकी हुन सक्छ भने केपी ओली सुध्रिन सक्दैनन् ? सुध्रिएपछि किन नहुनु ? सुध्रिएपछि, साधु भएर आइसकेपछि त गजबले हुन्छ । केपी ओलीमा रुपान्तरण, सुधार र परिवर्तन हुन्छ भने, केपी ओलीले गल्ती भयो भनेर आत्मालोचना गर्ने स्थिति बन्छ भने किन पूर्वाग्रह राख्नु ? म त पूर्वाग्रह राख्दिनँ ।’
साथै, उनले ओलीले आफूलाई सिध्याउनका लागि बहुत खतरनाक खेल खेलेर पतञ्जली योग पीठ जग्गा प्रकरणमा मुद्दा चलाउन लगाएको बताए । उनले ओलीलाई खतरनाक मान्छेको संज्ञा दिए । नेता नेपालले भने, ‘केपी ओलीले मलाई सिध्यानका निम्ति, बहुत खतरनाक षड्यन्त्र, उनको बानी नै छ, आफूसँग सहमत नभएका, रिस उठेका मान्छेलाई समाप्त पार्ने । कसो ज्यान बाँचेको छ, उनको त्यो बानी रहेन छ, नभए त्यो पनि खतरा रहेछ । खतरनाक मान्छे हो नि ।’
साथै, गत भदौ २३ गते भएको जेन–जी आन्दोलनको जिम्मेवारी तत्कालीन प्रधानमन्त्री भएको हिसाबले ओलीले लिनुपर्ने उनको भनाइ छ । २४ गते भएको तोडफोड र आगजनीको जिम्मा भने ओलीले लिनु नपर्ने उनको भनाइ छ । उनले भने, ‘माग पूरा नगर्ने कुराको दोष केपी ओलीजीमा जान्छ । सरकारमै जान्छ, उहाँकै कारणले यो अवस्थामा पुग्यो । पछि २४ गतेको दोषी केपी ओली होइनन् । प्रहरीको हतियार, गोलाबारुदहरु लुटिएका छन् । घरहरु जलाइएका छन् । यी सबै क्षतिको कुरा आएको छ ।’




प्रतिक्रिया