कांग्रेस समयअनुसार अगाडि बढ्न केन्द्रीय समितिको घेराबाट बाहिर निस्कनुपर्छ: नेता भट्टराई


काठमाडौं, कार्तिक २३ । नेपाली कांग्रेसका नेता नारायण प्रसाद भट्टराईले नीतिहरुको तर्जुमा, पार्टीमा आमुल सुधार र पुर्नरगठनलगायतका महत्वपूर्ण जिम्मेवारी केन्द्रीय समितिको सानो घेराबाट सम्भव नरहेको बताएका छन् । पार्टीको सर्वोच्च निकाय महाधिवेशनले मात्रै कांग्रेसलाई मुलुकको बदलिदो परिस्थितिअनुसार अगाडि बढाउन सक्ने दाबी गर्दै उनले विशेष महाधिवेशन पार्टीको वैधानिक व्यवस्था रहेकोले यसको विकल्प नरहेको प्रष्ट पारे ।

नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग बोल्दै उनले कांग्रेससंग विशेष महाधिवेशनबाहेको विकल्प नरहेकाले पार्टीलाई तत्कालको राजनीतिक संकटबाट मुक्त गर्न, पुर्नगठन गर्न, पार्टीभित्र सुधार ल्याउन, पार्टीलाई जनप्रिय र समयसापेक्ष बनाउन पार्टीको विधानअनुसार विशेष महाधिवेशनको माग गरे ।

उनले भने, ‘नेपाली कांग्रेसले महाधिवेशनबारे एक महिनादेखि छलफल गरेपनि निणर्य गर्न सकेको छैन । पार्टीले अहिलेसम्म कुन बाटो हिड्ने भन्नेबारे तय गर्न नसक्नु राम्रो संकेत होइन् । पार्टीभित्र आमुल सुधार, परिर्वतन र पार्टी पुर्नगठनलगायतका महत्वपूर्ण विषय केन्द्रीय समितिको सानो छलफलबाट सम्भव छैन । यसका लागि पार्टीको सर्वाेच्च निकाय महाधिवेशन जरुरी पर्दछ । पार्टीको संगठन, नियमित १५औँ महाधिवेशन गर्न सक्ने समय र निर्वाचनको समयसिमाका कारण पार्टीलाई नियमित महाधिवेशनमा जान अप्ठेरो देखिन्छ । त्यसकारण केन्द्रीय समितिले विशेष महाधिवेशन आयोजना गरेर सबै नीतिहरुको समीक्षा गर्दै पार्टीलाई मुलुकको बदलिदो परिवेशअनुसार अघि बढाउन ढिलाई गर्नुहुँदैन् ।’

विशेष महाधिवेशन पार्टीको वैधानिक व्यवस्था रहेको बताउँदै उनले वि.सं २०१४ सालमा तत्कालीन पार्टी सभापति सुवर्ण शम्शेरले आफै विशेष महाधिवेशनको आयोजना गरेर पार्टीको नेतृत्व हस्तान्तरण गरेको इतिहास रहेकाले यसलाई पार्टीले इतिहासमै अभ्यास गरिसकेको दाबी गरे । नियमितिबाट भन्दा विषेश महाधिवेशनबाट जेनजी पुस्ताको सहभागिता बढाउन सकिने बताउँदै नेता भट्टराईले विशेष महाधिवेशनबाट नीति र नेतृत्व परिवर्तन हुने जानकारी दिए ।