काठमाडौं, २३ कात्तिक । हास्य कलाकार तथा अभिनेता केदारप्रसाद घिमिरे (माग्ने बुढा) ले चलचित्र पत्रकारले पाउनेगरी आर्थिक सहयोग गरेका छन् । चलचित्र पत्रकार सङ्घ नेपालद्वारा सञ्चालित पत्रकार कल्याणकारी कोषका लागि आइतवार उनले नगद २५ हजार सहयोग गरेका हुन् ।
चलचित्र पत्रकार सङ्घले लामो समयदेखि पत्रकारको स्वास्थ्य उपचार, आकस्मिक समस्या र आपत्कालका लागि सञ्चालन गर्दै आएको कोषलाई सशक्त बनाउन ‘कल्याणकारी कोष अभियान’ चलाइरहेको छ । यही अभियानअन्तर्गत घिमिरेले सङ्घका प्रतिनिधिलाई नगद हस्तान्तरण गरेका हुन् ।
सहयोग रकम बुझाउँदै अभिनेता घिमिरेले भने– ‘मैले आफ्नो अभिनयबाट कमाएको पारिश्रमिकको केही अंश सधैं समाजसेवामा खर्च गर्दै आएको छु । यसपटक चलचित्रसम्बद्ध पत्रकारका लागि सानो सहयोग गर्ने पालो आएको छ । पत्रकारहरू नै हाम्रो सिर्जनालाई दर्शकसम्म पु¥याउने माध्यम हुन् । उहाँहरूको सहयोग हाम्रो दायित्व पनि हो ।’
चलचित्र पत्रकार सङ्घका अध्यक्ष समीर बलामीले पनि अभिनेता घिमिरेको योगदानप्रति आभार व्यक्त गर्दै भने– ‘हाम्रो कोषले अहिलेसम्म करिब दुई दर्जन पत्रकारको उपचारमा प्रत्यक्ष सहयोग गरेको छ । भूकम्प, कोरोना महामारीजस्ता सङ्कटका समयमा पनि पत्रकारलाई राहत र उपचार सहयोग पु¥याउँदै आएको छ । यस्तो सहयोगले कोषलाई अझ मजबुत र प्रभावकारी बनाउनेछ ।’
त्यसैगरी, सङ्घले चलचित्रकर्मी, कलाकार र अन्य शुभेच्छुकलाई पनि पत्रकार कल्याणकारी कोषमा सहभागिता जनाउन आह्वान गरेको छ । अभिनेता घिमिरेको यो सहयोगले चलचित्र पत्रकारिता क्षेत्रमा सकारात्मक सन्देश र एकता–भाव जगाउने सङ्घको विश्वास छ ।




प्रतिक्रिया