मधेस प्रदेशमा भएको ’अ-राजनीति’ दुःखद : कांग्रेस महामन्त्री शर्मा


काठमाडौं, कार्तिक २४ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मधेस प्रदेशमा भएको मुख्यमन्त्री नियुक्तिलाई ‘प्रहसन’को संज्ञा दिएका छन्। मधेस प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले)का संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएसँगै उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

मधेस प्रदेशमा भएको ’अ–राजनीति दुःखद छ’ नागरिक पङ्क्तिमा सङ्घीयताप्रति थप वितृष्णा बढाउन सघाउने घटना निन्दनीय छ,’ शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘१६८(२) को सरकार बन्ने सम्भावना छँदै, मञ्चन भएको ’प्रहसन’ लाई बहुमत दल र बहुमत प्रदेश सभा सदस्यको मागमा न्यायालयले सच्याउने अपेक्षा छ।’

अबेर राति जनकपुरधाम बाहिर पुगेर प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपदफा ३ बमोजिम मधेसको मुख्यमन्त्री पदमा यादवलाई नियुक्त गरेकी हुन्। यादव एमालेबाट प्रदेशसभा सदस्य तथा एमाले मधेस प्रदेश संसदीय दलका नेता हुन्।