सिके राउतको खुलासाः फेरि कांग्रेस-एमालेले दुई तिहाइ बहुमत ल्याउँछन्, त्यसपछि जेन-जी प्रदर्शनकारीहरुलाई कारबाही गर्छन्


काठमाडौं, २४ कात्तिक । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले जेन–जी र वैकल्पिक शक्तिहरु एकीकृत नभएको खण्डमा आगामी निर्वाचनमा पनि कांग्रेस–एमालेले दुई तिहाइभन्दा बढी मत पाउने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आगामी निर्वाचनबाट कांग्रेस–एमालेले दुई तिहाइ बढी मत पाएको अवस्थामा जेन–जी प्रदर्शनकारीहरुलाई खोजी–खोजी कारबाही गर्ने खतरा रहेको बताए । उनले त्यो परिस्थिति नआउनका लागि जेन–जीले पनि आफूहरुको एजेण्डा बोक्ने पार्टी चिन्नुपर्ने र वैकल्पिक शक्तिहरु एकीकृत हुनुपर्ने बताए ।

‘जेन–जीहरु एकीकृत हुनैपर्छ । उनीहरुको एजेण्डा जुन पार्टीले बोकेको छ, त्यो पार्टीलाई मान्नैपर्ने हुन्छ । रास्वपा एकातिर, जनमत एकतिर, नागरिक उन्मुक्ति एकातिर, जेन–जीहरुको पार्टी अर्कोतिर गर्यो भने यो केही हुनेवाला छैन । फेरि कांग्रेस–एमालेले जित्छन् । दुई तिहाइभन्दा पनि बढी ल्याउँछन् । यिनीहरुले आन्दोलनकारीहरुलाई समातेर कारबाही गर्छन् । त्यही हुने हो । यो आन्दोलनको परिणाम हेर्दाखेरी बडो दुःख लाग्छ,’– उनले भने ।

साथै, उनले एमाले, कांग्रेसले संसद् पुनर्स्थापनाको एजेण्डा लिनु जनताको लागि दुर्भाग्य हुने बताए । जनमत पार्टी निर्वाचनमा जानका लागि तयार रहेको पनि उनले बताए । अबको अवस्थामा संसद् पुनर्स्थापना गरियो भने जनमत र आन्दोलनको अपमान हुने उनले बताए । अब संसद् पुनर्स्थापना भएको खण्डमा कांग्रेस–एमाले मिलेर फेरि सरकार बनाउने र आन्दोलनकारीहरुलाई दमन गर्ने उनले बताए ।