काठमाडौं, २४ कात्तिक । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले दुर्गा प्रसाईँको राजावादी आन्दोलनलाई समर्थन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग आफूहरुको सहकार्य हुन नसक्ने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राजावादी आन्दोलनलाई समर्थन गर्ने र प्रदेश खारेजीको एजेण्डा अगाडि सार्ने शक्तिसँग आफ्नो सहकार्य नहुने बताएका हुन् ।
‘रास्वपाले प्रदेश खारेज हुनुपर्यो भन्दिन्छ । दुर्गा प्रसाईँको आन्दोलन चल्दा रास्वपाले समर्थन गरिसक्ने स्थिति बनेको थियो । दुर्गा प्रसाईँको राजावादी आन्दोलनलाई समर्थन गर्ने शक्तिसँग हाम्रो कुनै सहकार्य हुनसक्छ त ? सक्दै सक्दैन । हामी पहिचान पक्षधर हौं, संघीयतावादी हौं । हामी संघीयतालाई खारेज गर्नुपर्छ, प्रदेशलाई खारेज गर्नुपर्छ भन्ने शक्तिसँग हाम्रो सहकार्य हुन सक्दैन । भलै रेस्पेक्ट निजी रुपमा गर्छौं, त्यो छुट्टै कुरा हो,’– उनले भने ।
त्यस्तै, अहिलेकै अवस्थामा निर्वाचन भएको खण्डमा कांग्रेस–एमालेले दुई तिहाइ बहुमत ल्याउने र फेरि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने उनले दाबी गरे । ‘यस्तै अवस्थामा निर्वाचन भयो भने कांग्रेस र एमाले फेरि पनि ठूलो दल बन्छ । फेरि फर्किएर ओलीजी प्रधानमन्त्री बन्नुहुन्छ । त्यसमा कुनै दुईमत नै छैन,’– उनले भने ।
कांग्रेस–एमालेलाई ठूला दल बन्न नदिनका लागि एउटामात्रै वैकल्पिक शक्ति बनाएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ । उनले रोडम्याप र लङ्गटर्म भिजन नभएको कारण जेन–जी आन्दोलनकारीहरु ट्रयापमा फसेको टिप्पणी गरे । दुई महिनाको पनि पृष्ठभूमि नभएका जेन–जीहरु निर्वाचनको ट्रयापमा परेको उनले बताए । निर्वाचन प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको लागि हुनुपर्नेमा संसदीय निर्वाचन हुन लागेको उनले बताए ।




प्रतिक्रिया