काठमाडौं, २४ कात्तिक । नेपाली कांग्रेसका नेता श्याम घिमिरेले पार्टीले संस्थागत रुपमा प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा निर्णय लिनुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले संसद् विघटनलाई असंवैधानिक र गैरलोकतान्त्रिक भनिसकेको अवस्थामा आफूहरुले पुनर्स्थापनाका लागि राजनीतिक र कानूनी बाटो बनाउनका लागि हस्ताक्षर अभियान चलाएको बताए ।
‘कांग्रेसले विघटित प्रतिनिधिसभालाई कार्यसम्पादन समितिको बैठकबाट असंवैधानिक र गैरलोकतान्त्रिक भनिसकेको अवस्था हो । तर, यो विषयमा कसरी अगाडि जाने भनेर कांग्रेसले निर्णय गरेको छैन । कांग्रेसले अब संस्थागत रुपमा नै संसद् पुनर्स्थापनाको विषयमा निर्णय लिनुपर्छ । त्यसको लागि राजनीतिक र कानूनी बाटो अपनाउनुपर्छ भनेर हामीले हस्ताक्षर गरेर पार्टीलाई बुझाउन लागिएको हो,’– उनले भने ।
जेन–जी आन्दोलनको माग मध्यावधि निर्वाचन नरहेको पनि उनले बताए । मध्यावधि निर्वाचन गर्नु आन्दोलनको म्याण्डेड नरहेको उनको भनाइ छ । ‘जस्ताको तस्तै मध्यावधि निर्वाचन गर्ने भन्ने कुरा आन्दोलनको म्याण्डेट थिएन । आन्दोलनको म्याण्डेट पूरा गर्नका लागि पनि संसद् पुनर्स्थापना गरेर संसद्ले संविधान संशोधनदेखि अन्य कुराहरु पूरा गरेर निर्वाचनको बाटोमा जानुपर्छ,’– उनले भने ।
नेता घिमिरेले यो संविधान जीवित नै रहेको अवस्थामा धारा ७६ बाहेक अरु कुनै पनि धाराले राष्ट्रपतिलाई प्रधानमन्त्री नियुक्त गर्ने अधिकार नदिने बताए । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ६१ अनुसार सरकार बनाएको र उक्त धारामा राष्ट्रपतिलाई त्यो अधिकार कतै पनि नदिइएको नेता घिमिरेले बताए । त्यस्तै, संविधानको कुनै पनि धारालाई कोड नगरीकन संसद् विघटनको सिफारिस गरिएको र त्यसलाई राष्ट्रपतिले सदन गर्नु प्रथम दृष्टिमै असंवैधानिक र बदरभागी रहेको उनले बताए ।
जेन–जीको माग पूरा गरेर, जेन–जीको भावना समेटेर मात्रै निर्वाचनमा जान सकिने उनले बताए । संसद् केही दिनको लागि भए पनि पुनर्स्थापना गरी संविधान संशोधन गरेर निर्वाचनमा जानुपर्ने उनले बताए ।




प्रतिक्रिया