काठमाडौं, २४ कात्तिक । कमन जेन–जी नेपालले हत्यारा र भ्रष्टाचारीलाई कारबाही र जेन–जी आन्दोलनलाई संस्थागत गर्ने माग गर्दै सरकारको ध्यानाकर्षण गराएको छ । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कमन जेन–जी नेपालले हत्यारा र भ्रष्टाचारीलाई कारबाहीको माग गरेको हो । कमन जेन–जी नेपालका इन्चार्ज सिबी साहले जेन–जी आन्दोलनपछि गठित सुशीला कार्कीको सरकारले आज जेन–जीलाई चिन्दिनँ भन्न थालिसकेको बताए । प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले खोला तरिसकेपछि लौरो बिर्सने प्रवृत्तिको पुनरावृत्ति गरेको उनले बताए ।
उनले अहिले आफूहरुलाई देशको स्वाधीनता संकटमा परेको भान भइरहेको उनले बताए । विदेशीहरुको प्रभाव क्याविनेटभित्र छिरिसकेको उनको आरोप छ । अहिले बनेको सरकारले सुशासनको दिशामा काम नगरेको उनको भनाइ छ । नेताहरुलाई मालामाल बनाउने र जनताहरुलाई लाचार बनाउने यो व्यवस्था रहेसम्म देशले निकास नपाउने उनले बताए ।
उनले आज देशको प्रधानमन्त्री र मन्त्री बन्नेहरुको सम्पत्ति र सन्तान दुवै विदेशमा रहेको टिप्पणी गरे । नेपालको प्रधानमन्त्री र मन्त्री बन्नेहरुले नेपाल र नेपालीको चिन्ता र चिन्तन गर्नुपर्ने उनले बताए । जेन–जी आन्दोलनका प्रत्येक सहिद परिवारलाई एक करोडको दरले राहत दिनुपर्ने र प्रत्येक परिवारको एक जनालाई रोजगारीको ग्यारेन्टी गरिनुपर्ने उनले बताए । उनले देशमा जनयुद्ध, मधेश विद्रोह, जनयुद्धमा गोली खाएका घाइतेहरुको परिवार आज पनि क्षतविच्छेद रहेको उनले बताए । जेन–जी आन्दोलनका घाइतेहरुले पनि जीवनभर त्यसरी नै बाँच्न पर्ने त होइन भन्ने आफूहरुको चिन्ता र चासोको विषय रहेको उनले बताए ।
राजतन्त्रको समाप्तिपछि ज्ञानेन्द्रलाई खोपीमा लगेर राखिएको जस्तै केपी शर्मा ओलीजस्ता रिजेक्टेड नेतालाई पनि बिस्तापित गर्नुपर्ने उनले बताए । ओली आफैं गुण्डुमा गएर बसिसकेको बताउँदै उनले गुण्डुबाट सिंहदरबारतिर आँखा नलगाउन चेतावनी दिए । उनले वर्तमान सरकारको हर्कत भूइँमान्छे विरोधी देखिएको बताए । संविधानले सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई एक पटकलाई जग्गा उपलब्ध गराउने भने पनि अहिलेको सरकारले भूमि आयोग नै खारेज गर्ने हर्कत गरेको उनले बताए । उनले करारको कर्मचारी हटाएर पनि सरकारले गरिबविरोधी काम गरेको उनले बताए ।
निकास र विकासमा असफल देखिएको भन्दै उनले प्रधानमन्त्री कार्कीको राजीनामा मागे । जेन–जी युवाको नेतृत्वमा नयाँ सरकार र अन्तरिम संविधान बनाएर देशलाई निकास दिनुपर्ने उनको धारणा छ । ‘तिमी जेन–जीलाई चिन्दैनौं भने केपी ओलीको सिफारिसको बलमा मात्रै प्रधानमन्त्री बनेको हो ? केपी अोलीको सिफारिसमा बनेको प्रधानमन्त्रीलाई यो जेन–जी आन्दोलनले स्वीकार गर्दैन । हामी चाहन्छौं अब यो देशमा जेन–जीको नेतृत्वमा नयाँ सरकार बनोस् । त्यसका लागि सुशीला कार्कीले मार्गप्रशस्त गर्नुपर्छ,’– उनले भने ।
कमन जेन–जीका राजन साहले टाउको र छातीमा ताकेर गोली हान्न आदेश दिने ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई कारबाही गरिनुपर्ने बताए । उनले भने, ‘प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओम प्रकाश अर्याललाई चेतावनी दिन चाहन्छु– जेन–जी युवाहरुलाई टाउको र छातीमा ताकेर गोली हानिएको छ । त्यस्तो कुपात्रहरुलाई पक्राउ गरी कारबाही गरिनुपर्छ ।’
साथै, अहिले प्रधानमन्त्री कार्कीको नेतृत्वमा गठन भएको मन्त्रिमण्डल पनि विदेशीको इसारामा गठन भएको उनले बताए । सरकारमा जेन–जीको अगुवाइ र नेतृत्व हुनुपर्ने बताए । अहिले सरकारमा विचौलियाहरु हाबी भएको उनको आरोप छ ।
कार्यक्रममा कमन जेन–जी नेपालका उपाध्यक्ष उज्जवल शर्मा, अध्यक्ष विकेश शाह, सोनिया पटेल सुभास ठाकुर, विकास झा, सोनिया पटेल, प्रसुना आचार्यलगायतले आ–आफ्नो धारणा राखेका थिए ।




प्रतिक्रिया