काठमाडौं, २४ कात्तिक । आर्थिक वर्ष २०८२/८३ को डडेल्धुरा जिल्लाका लागि रातो किताबमा समावेश भएका विकासका आयोजनाहरुमा विनियोजित बजेट वर्तमान सरकारले पूर्वाग्रह राखी रोकेको भन्दै युवाहरुले विरोध गरेका छन् । आज (सोमबार) युवा नेता इन्जिनियर भुवन भट्टको संयोजकत्वमा रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन मार्फत २ अर्बभन्दा बढी बजेट पूर्वाग्रह राखेर रोकिएको र कार्यान्वयन नगर्न भन्दै निर्दशन दिइएको बताइएको हो ।
संघीय सरकारको २०८२/८३ का लागि रातो कितावमा समावेश भएका योजनाहरुमा विनियोजित बजेट रोक्का गरेर राख्नु र तालुकदार विकासे मन्त्रालयले जिल्लाका सम्बन्धित कार्यालयलाई कार्यान्वयन नगर्न निर्दशन जारी गर्नु जनताप्रतिको धोका भएको र डडेल्धुराका जनताप्रति वर्तमान सरकारको अन्यायपूर्ण व्यवहार भएको युवा नेता भट्टले बताए ।
भट्टले जेन–जी आन्दोलनको जगमा निर्माण भएको वर्तमान सरकारका प्रधानमन्त्री सुशीला कार्की, मन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर खनालले पूर्वाग्रह राखेर पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभपति शेरबहादुर देउवाको जिल्ला भन्दै जनताको बजेट रोकेर राख्नु र कार्यान्वयन गर्न नदिनु सरकारको जनताप्रतिको बेइमानी भएको बताए ।
‘डडेल्धुरा जिल्लाको भौगलिक अवस्थिति अत्यन्त महत्वपूर्ण छ । सुदुरपश्चिमका कैलाली कञ्चनपुर वाहेक ७ वटा जिल्ला जान डडेल्धुरा भएर जानुपर्छ । डडेल्धुरा पहाडी ७ वटा जिल्लाको जक्सन प्वाइन्ट हो । यसको सामरिक महत्व छ । यहाँको बजार व्यवस्थापन र सडक सुधार गरी चौडा गर्न २० करोड पैसा छुट्याई रातो किताबमा समावेश भएको थियो । डडेल्धुरा बजार क्षेत्रको बागबजारदेखि उग्रतरासम्मको सडक सुधार गरी चौडा बनाउन र बजार व्यवस्थापन गर्नका लागि मुआब्जा वितरणको काम सकिइसकेको छ । बजारको सडक अलपत्र छ। यसको व्यवस्थापन र सडक निर्माणका लागि २० करोड छुट्याएर वहुवर्षीयको प्रक्रिया अगाडि बढेको छ । पालिकासँगका लिंक रोड सुधार गरि पिच गर्न ४८करोड छुट्याईएको थियो । यस्तो अवस्थामा वजेट रोक्नु, कार्यान्वयन गर्न नदिनु अपराध हो । जनताप्रतिको धोका हो,’– उनले भने ।
पत्रकार सम्मेलनमा वक्ताहरुले अब डडेल्धुरा सदरमुकाम बन्द गरेर पहाडी जिल्लाको आवागमन ठप्प बनाउने चेतावनीसमेत दिए । यसको जिम्मा सरकारले लिनुपर्ने उनीहरुको चेतावनी छ । पत्रकार सम्मेलनमा सम्मेलनमा युवा नेता भट्ट, अमरगढीका पूर्व मेयर विपिन ओझा, युवाहरु पदम ठकुरी, जगदीश भट्ट, भुवन ओझा, महेश रावल, अरुण पन्त, सुरज मल्ल, विनोद भण्डारीलगायतको उपस्थिति रहेको थियो ।
२०७९ सालको निर्वाचनमा डडेल्धुामा परिवर्तनको, युवाको नारा लिएर चुनाव उठेका सागर ढकालको पनि चर्को विरोध भएको थियो । ‘०७९ सालको निर्वाचनमा जनताको १३०४८ मत लिने, परिवर्तनकारी युवा, अग्रगामि युवा भनेर चुनावमा जाने, जनतालाई सेन्टिमेन्टल व्ल्याकमेल गरेर मत लिने तर अहिले डडेल्धुराको २ अर्बभन्दा बढी बजेट वर्तमान सरकारले रोक्का गरेर राख्दा चुइक्क नवोल्ने, जेन–जी समूहबाट वार्ताम गएर वालुवाटारमा सुशीला कार्की, कुलमान घिसिङसँग कुम जोड्ने तर जनताप्रतिको अन्यायको विषयमा नबोल्ने सागर ढकाललाई अब डडेल्धुरा जाने छुट छैन्,’– उनले भने ।
ढकाल जनताप्रति जिम्मेवार नभएको, जनताको अर्बौं विकासको बजेट रोक्का गरिदा मुखदर्शक र रमिते बनेको उनीहरुको आरोप छ । अब ढकाललाई डडेलधुराका जनताले बहिस्कार गर्नुपर्ने युवा नेता भट्टले बताए । ‘जनताको न्यायक लागि नबोल्ने युवा डडेल्धुरामा चाहिदैन भन्दै भट्टले चर्को विरोध गरे । अमरगढीका पूर्व मेयर ओझाले डडेल्धुरा कांग्रेस सभापति देउवाको मात्रै जिल्ला सोचेर बजेट रोक्का गर्नु गलत रहेको बताए । सरकरारलाई रातो किताबमा समावेश भएको २अर्बभन्दा बढी विभिन्न योजनाहरको बजेट काट्ने अधिकार नरहेको उनले बताए । यसलाई उनले अन्याय भनेका छन् । अब सबै मिलेर आन्दोलनमा जाने पनि उनले चेतावनी दिए ।




प्रतिक्रिया