एमालेलाई राष्ट्रिय शक्ति बनाउन सबै वामपन्थी शक्ति एकत्रित हुन जरुरी छः महासचिव पोखरेल


काठमाडौँ, २४ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रलाई सङ्कटबाट बाहिर निकाल्न पार्टीले सशक्त भूमिका निर्वाह गर्दै आएको बताएका छन् । आज आयोजित पार्टीको ‘घर फर्क राष्ट्रिय अभियान’ शुभारम्भ कार्यक्रममा महासचिव पोखरेलले नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा देश अप्ठ्यारोमा पर्दा एमालेले सही बाटोमा ल्याउने काम गरेको बताए ।

नेपाली समाजलाई विखण्डनबाट जोगाउने होस् वा राष्ट्रिय स्वतन्त्रता र स्वाभिमान स्थापित गर्ने कुरामा एमालेले सधैँ अगुवाइ गरेको उनले बताए । मनमोहन अधिकारीले सुरु गरेको सामाजिक सुरक्षा कार्यक्रमलाई एमाले नेतृत्वको सरकारले विकास र विस्तार गरेको स्मरण उनले गराए ।

एमालेलाई राष्ट्रिय शक्ति बनाउन सबै वामपन्थी, राष्ट्रवादी शक्ति एमालेमा एकत्रित हुन जरुरी भएको महासचिव पोखरेलको भनाइ थियो ।