दलहरुको सहयोगमा राष्ट्रपतिले देश बचाउनुभयोः देव गुरुङ (भिडिओसहित)


काठमाडौं, २५ कात्तिक । नेपाली कम्युनिष्ट पार्टीका नेता देवप्रसाद गुरुङले देशलाई दलहरुको सहयोगमा राष्ट्रपति रामचन्द्र पौडेलले बचाउन सफल भएको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले संसद् विघटन संविधानविपरीत नै भए पनि राष्ट्रपति पौडेलले देश बचाएको बताएका हुन् । उनले जेन–जीहरुसँग सम्झौता गरेर राष्ट्रपतिले लिएको अडानका कारण देश बचेको बताए ।

‘राष्ट्रपतिको नेतृत्वमा जेन–जीसँग संवाद गरेर निर्वाचन, अन्तरिम सरकारको कुरा, कमसेकम बेठीक नै भए पनि, संविधानविपरीत नै भए पनि संसद् विघटनको कुरा । यी दुई कुराको जो सम्झौता गर्नुभयो– त्यो सम्झौताले मात्रै देश बचेको छ । त्यो सम्झौता कसले गर्नुभयो त भन्दाखेरी दलहरुको सहयोगमा राष्ट्रपतिले गर्नुभयो । राष्ट्रपतिले सबै दलहरुसँग संवाद गरेर न गरिरहनुभएको छ । दलहरुसँगको संवादको आधारमा, दलहरुको फिडव्याकको आधारमा राष्ट्रपतिले अडान लिनुभयो र मात्रै देश बचेको छ, डेमोक्रेशी बचेको छ । नत्र त संघारमा पुगिसकेको थियो त । यो अवस्थामा देश बचेको भनेको राष्ट्रपतिको नेतृत्वमा दलहरुको सपोर्टमा मात्रै बचेको छ,’– उनले भने ।

साथै, उनले यतिखेर सबैभन्दा आक्रमणको निसाना यो परिवर्तनको नेतृत्व गर्ने ठूला दलहरुहरु नै बनेको बताए ।