काठमाडौं, २५ कात्तिक । नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्लले नवनियुक्त नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई सरकारले नियुक्ति गरेर राम्रो गरेको प्रतिक्रिया दिएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कार्कीको अवधि पनि साढे २ वर्ष लगभग बाँकी नै रहेको र आफूलेसँगै काम गरेकाले उनी राम्रो र सक्षम छन् भन्ने कुरामा आफू विश्वस्त रहेको बताए ।
‘संगै काम पनि गरेको हो । राम्रो पक्ष के भइदियो भने लामो समयका लागि उहाँ आउनु भएको छ । करिब साढे २ वर्ष जति लाग्छ मलाई । उहाँको टिम पनि राम्रो छ । यदि उहाँले राम्रो ड्राइभ गर्न सक्नुभयो भने प्रहरीलाई राम्रो गर्न सक्नुहुन्छ उहाँले,’ उनले भने, ‘पर्फर्मेन्सको हिसाले र अगाडिको हिसाबले हेर्दाखेरी उहाँलाई नियुक्ति गरेर सरकारले ठीक गर्यो । संगै काम गरेकाले थाहा हुन्छ, उहाँलाई राम्रै रुपमा लिन सकिन्छ ।’
उनले गत भदौ २४ गतेको घटनापछि प्रहरीहरु कता–कता डराएको जस्तो देखिएको बताए । प्रहरीसँग साधन र स्रोतको कमी रहेको र त्यसमाथि आगलागी भएपछि झनै चुनौति थपिएको उनले बताए । यस्तो अवस्थामा आफूले फागुन २१ गतेका लागि तोकिएको निर्वाचन असम्भव जस्तो देखेको उनले बताए ।
उनले वर्तमान सरकार कता–कता समस्यामा अल्झिएको देखिएको बताए । सरकार र कर्मचारीतन्त्रमा तानातानी जस्तो देखिएको उनले बताए । प्रहरीको मनोबल बढाउनका लागि योग्य लिडरसीपको आवश्यक रहेको उनले बताए । प्रहरीमा अहिले साधन, स्रोतको कमी रहेको र त्यसमा पनि कमिशनको चलखेल हुने गरेको पूर्व डीआईजी मल्लले बताए ।




प्रतिक्रिया